फाकफोकथुममा सहकारी लेखा व्यवस्थापन तालिम

  नयाँ बुलन्द
0 Shares


आमचोक : इलामको फाकफोकथुम गाउँपालिका–३ आमचोकमा सहकारी लेखा व्यवस्थापन तालिम सुरू भएको छ । सहकारी सञ्जाल समन्वय समिति फाकफोकथुम गाउँपालिकाको आयोजना, फाकफोकथुम गाउँपालिकाको कार्यालयको सहयोग तथा जिल्ला कृषि सहकारी संघको प्राविधिक सहयोगमा सुरू भएको तालिम पाँच दिनसम्म चल्ने छ ।

तालिमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठले सहकारी सञ्जाललाई गाउँपालिकाले यसपटकको गाउँसभाबाट विशेष सम्वोधन गर्ने बताए । गाउँपालिका र सहकारी एकैरथका दुई पाटा हुन भन्दै उहाँले सहकारी क्षेत्र जति बलियो र मजबुत भयो त्यत्तिनै स्थानीय तह सवल बन्ने विचार व्यक्त गरे । तीन खम्बे अर्थनीति अन्तर्गत सहकारी रहेकाले सहकारीको विकासका लागि आफ्नो तवरबाट कुनै कसुर बाँकी नराख्ने बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनार्दन कट्टेलले सहकारी पैसामुखी भन्दा पनि उत्पादनमुखी हुनुपर्नेमा जोड दिए । वडा नं. ३ का वडाध्यक्ष राजन पौडेलले सहकारी क्षेत्रको विकास बिना आर्थिक विकास सम्भव नरहेको बताउँदै सरकारी तीन खम्बे अर्थनीतिलाई गाउँपालिकाले पनि अवलम्वन गर्ने बताए ।

सहकारी संजाल फाकफोकथुम गाउँपालिकाका अध्यक्ष केदार पौडेलले यस गाउँपालिकामा चार हजार जना सहकारी संस्थामा आवद्ध रहेको र गाउँपालिकाको ठूलो अर्थतन्त्र सहकारी क्षेत्रले ओगटेको बताए ।

कार्यक्रममा सहजकर्ता हरिकिशोर आचार्य, अग्र्यानिक अभियानका अभियान्ता देवेन्द्र रेग्मी, सञ्जालका बमबहादुर निरौलालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

तालिममा गाउँपालिकाका ३२ वटा सहकारी संस्थाका सदस्य तथा लेखा शाखाका कर्मचारीको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार