मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै तेस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं : नेपाल पत्रकार महांघले सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

सोमबार बसेको केन्द्रीय समितिको बैठकले असार ३ देखि ३० गतेसम्मको तेस्रो चरणको आन्दोलन घोषणा गरेको हो । यसक्रममा प्रेस स्वतन्त्रताको माग गर्दै हस्ताक्षर अभियानदेखि सिठ्ठी जुलुस र सभा गर्नेसम्म गरिने जनाइएको छ ।

असार ३ गते प्रेस स्वतन्त्रताको पक्षमा हस्ताक्षर संकलन गर्ने, ६ गते उक्त हस्ताक्षर जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई पठाउने, १० गते मिडिया काउन्सिल विधेयकविरुद्ध कार्टुन प्रदर्शन गरिने छ ।

त्यस्तै असार १५ गते सबै जिल्ला शाखाले आफ्नो क्षेत्रबाट निर्वाचित संघीय र प्रदेश सांसदलाई एसएमएस मार्फत सन्देश पठाएर ध्यानाकर्षण गर्ने, असार २० गते प्रेस स्वतन्त्रता सभा गर्ने, असार २५ गते दिउँसो १२ बजे लालटिन जुलुस निकाल्ने र असार ३० गते देशब्यापी सिठ्ठी जुलुस र सभा गर्ने महासंघले जनाएको छ ।

सरकारले महासंघले उठाएका मागप्रति उपेक्षा गरेको आरोप पनि बैठकले लगाएको छ । पेशागत स्वतन्त्रताको माग राखेर गरिएको आन्दोलनलाई सरकारले राजनीतिक रङ दिएको, विदेशी दातृ संस्थासंग जोडेर लाञ्छना लगाएको भन्दै महासंघले आपत्ति पनि जनाएको छ ।

महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा मिडिया काउन्सिल विधेयकमा राखिएका प्रावधानले सञ्चार क्षेत्रको नियमन गर्ने नभई नियन्त्रण गर्ने प्रष्ट भएको जिकीर गरिएको छ ।

विधेयक फिर्ता लिएर सरोकारवालासँग छलफल गरेर समस्या समाधान गर्न आग्रह गर्दै विष्टले प्रेस स्वतन्त्रता विरोधी मिडिया काउन्सिल विधेयक फिर्ता नभएसम्म थप सशक्त आन्दोलन गरिने पनि उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार