लोकसेवाको विज्ञापन सच्याउन लिम्बुवानको माग

धरान : लोकसेवा आयोगले समानुपातिक समावेशीको सिद्धान्तलाई नामेट पारेको भन्दै सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले गम्भीर आपत्ति प्रकट गरेको छ । मञ्चले यसलाई तत्काल सच्याउन माग गरेको छ ।

लोकसेवा आयोगले हालै ९ हजार १ सय ६१ जनाको आवेदन खुल्ला गरे पनि नेपालको संविधानले प्रदत्त गरेको ५५ प्रतिशत खुल्ला र ४५ प्रतिशत समावेशी सिद्धान्तलाई अवलम्बन नगरेको भन्दै आपत्ति प्रकट गरेको हो । मञ्चले शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै आयोगले खुलाएको विज्ञापनमा समावेशी सिद्धान्तअनुसार आदिवासी, दलित, मधेशी, महिला, अपाङ, सीमान्तकृतलाई जुनरूपमा कोटा दिनुपर्ने त्योभन्दा बाहिर गएर आवेदन खुलाएको जनाएको छ ।

धनकुटामा खुलाएको ७७ जना अधिकृतको हकमा संविधानले व्यवस्था गरेअनुसार खुल्लामा ४२ हुनुपर्नेमा ५४ जनाले आवेदन दिनसक्ने उल्लेख गरेको मञ्चका जिल्ला अध्यक्ष अमर इजम लिम्बूले बताए । आयोगले गरेको यस्ता गम्भीर त्रुटिलाई तत्काल सच्याएर विज्ञापन गर्नसमेत माग गरेको छ । साथै, महिलाले पाउनुपर्ने ३३ प्रतिशत अनिवार्य समानुपातिक कोटा लागू गर्नुपर्ने उल्लेख गरेको छ ।

मञ्चले यसको विरोध गर्दै धरान नगर क्षेत्रमा ¥याली निकालेको छ । कार्यक्रममा नगर महिला अध्यक्ष नर्वदा लिम्बू, नगर अध्यक्ष सञ्जुहाङ साँवा, मञ्चको भातृसंस्था पहिचान समिति सदस्य नैनकुमार विकलगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार