सूर्योदय मेयरकप : कन्काईलाई हराउँदै मेचीनगर फाइनलमा

इलाम : डिफेन्डिङ च्याम्पियन मेचीनगर नगरपालिका झापा इलामको सूर्योदय नगरपालिका १२ स्थित करफोकमा जारी दोश्रो सुर्योदय मेयरकपको फाइनल प्रवेश गरेको छ ।

विहीबार भएको दोस्रो तथा अन्तिम सेमीफाइनलमा कन्काई नगरपालिकालाई झापालाई ७–० गोलको फराकिलो अन्तरले पराजित गर्दै मेचीनगर उपाधि नजिक पुगेको हो ।

मेचीनगरको जितमा खमिर गिल्सन कन्दङवाले ह्रयाट्रिक गरे । उनले खेलको ८ औ, पहिलो हाफको इन्जुरी र ४६ औ मिनेटमा गोल गर्दै ह्रयाट्रिक पुरा गरेका हुन । त्यसैगरी एन्जल गुरुङ, पुजन उपरकोटी, अशोक खवास र पुजन राईले एक÷एक गोल गरे । खेल अवधीभर मेचीनगरले बल नियन्त्रणमा राखेको थियो । हिलाम्मे खेल मैदानमा गोल गर्ने केही राम्रा अवसरहरु मेचीनगरले गुमाएको थियो । कन्काईको कमजोर प्रर्दशन भएपछि मेचीनगरका गोलरक्षक दिनेश थापा मगर निक्कै फुसदिलो देखिन्थे ।

मेचीनगरले माई नगरपालिकालाई ३–० ले हराउँदै सेमीफाइनल पुगेको थियो भने कन्काईले इलाम नगरपालिकालाई २–० ले हराएको थियो ।

जितसँगै मेचीनगरले कम्तीमा १ लाख रुपैया सुरक्षित गरेको छ । अब उपाधिका लागि शनिबार हुने फाइनलमा मेचीनगरको भेट देउमाई नगरपालिका इलामसँग हुनेछ । देउमाईले यसअघि शिवसतासी नगरपालिका झापालाई ४–२ गोल अन्तरले हराउँदै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

प्रतियोगिताका विजेताले नगद २ लाख र उपबिजेताले १ लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । त्यस्तै उत्कृष्ठ खेलाडी, उत्कृष्ठ गोलरक्षक सर्वाधिक गोलकर्ताले जनही ८ हजार रुपैयाँ पाउनेछन् ।

प्रतियोगितामा इलामका ४ र झापाका ५ गरी ९ वटा नगरपालिका टिमको सहभागिता रहेको छ । प्रतियोगितामा आयोजक सूर्योदय नगरपालिका सहित इलामका इलाम, देउमाई र माई नगरपालिका तथा झापाका दमक, शिवसतासी, कन्काई, मेचीनगर र अर्जुनधारा नगरपालिकाको सहभागिता थियो ।

खेलको माध्यमबाट पर्यटन क्षेत्रको विकास गर्ने र नगरपालिकाभित्रका युवाहरुलाई दुव्र्यसनबाट मुक्त गराई उत्कृष्ठ खेलाडी उत्पादन गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार