प्रदेश १ को नाम ‘किरात’ राखौं : अध्यक्ष राई (भिडियो सहित)

  राम योङहाङ  194 पटक हेरिएको

इलाम : किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष दिवस राईले प्रदेश १ को नाम किरात राख्न माग गरेका छन् ।

पहिचान, संस्कृति, इतिहास र सभ्यताका आधारमा किरात नाम सबैभन्दा उपयुक्त हुने दावी गर्दै राईले किराती सभ्यताको सम्मान गर्दै प्रदेश १ को नाम किरात राख्न माग गरे ।

किरात राई यायोक्खा इलामको नवौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष राईले किरात कुनै साम्रदायिक शब्द नभएको दावी गर्दै इतिहास र सभ्यता भएकाले त्यसको सम्मान स्वरुप प्रदेशको नाम किरात राख्न उपयुक्त हुने तर्क प्रस्तुत गरे ।

‘किरात कुनै जातिय वा साम्रदायिक होइन, यो त पहिचान, संस्कृति, इतिहास, सभ्यता र भूगोल हो’ अध्यक्ष राईले भने, ‘किरात माग्दा हामीलाई कसैले जातिवादी भन्छन् । हामी जातिवादी होइनौं, बरु किरातलाई स्वीकारर्दैनौ भन्नेहरु चाँही सबैभन्दा बढी जातिवादी हुन् ।’

पहिचान, इतिहास र सभ्यता स्वीरका नगर्नेहरु नै जातिवादी र साम्प्रदायिकताको द्योतक भएको उनको आरोप थियो । अध्यक्ष राईले इतिहास र सभ्यताको सम्मानका लागि भएपनि किरात नाम स्वीकार गर्न सम्पूर्ण प्रदेशवासीलाई आग्रह समेत गरे ।

अध्यक्ष राईले यस क्षेत्रमा लिम्बुवान, खम्बुवान, कोचिला, शेर्पालुङ प्रदेश माग गर्दै आन्दोलनतर शक्तिहरुलाई पनि मिलेर किरात प्रदेशको पक्षमा सहमति जनाउन आग्रह गरे । तत्कालको प्रदेशको सीमाङ्कनले विभिन्न पहिचानका नाम सम्भव नभएको बताउँदै अध्यक्ष राईले प्रदेश सीमाङ्कन परिवर्तन नभएसम्म किरात स्वीकार गर्न आग्रह गरे ।

‘यो प्रदेशमा विभिन्न लिम्बुवान, खम्बुवान, कोचिला, शेर्पालुङ प्रदेशको माग गर्ने शक्ति छौं । तर अहिलेकै संरचनामा यो सम्भव छैन । त्यसैले किरातमा सहमति गरौं’ अध्यक्ष राईले भने, ‘पछि संविधान संसोधन भएर प्रदेशको संख्या बढेको खण्डमा लिम्बुवान, खम्बुवान, शेपालुङको पक्षमा लडौंला । तर अहिले भने एक भएर किरातको पक्षमा लागौं ।’

किरात प्रदेश प्राप्त नभएसम्म लडिरहने उद््घोष गर्दै अध्यक्ष राईले विराटनगरको प्रदेशसभा कब्जा गर्ने तयारी भइरहेको खुलासा गरे । ‘यो वर्खो अधिवेनबाट नाम टुङ्ग्याउने तयारी छ । हामीले किरातका लागि सक्दो दवाव दिने हो । त्यसका लागि प्रदेशसभामा धर्नादेखि विभिन्न कार्यक्रम हुन सक्छन्’ उनले भने, ‘त्यसका लागि सबैलाई तयार रहन आग्रह गर्दछु ।’

२० जना सम्मानित

किरात राई यायोक्खा इलामको नवौँ जिल्ला अधिवेशनका अवसरमा विभिन्न पक्षमा सहयोग गर्ने २० जनालाई सम्मान गरिएको छ । राई समुदायको पहिचान झल्काउने फेटा बाधेर कदरपत्र प्रदान गरी सम्मान गरिएको हो ।

यायोक्खालाई अमूल्य योगदान पु¥याउने अग्रज १२ जना, निःशुल्क जग्गा प्रदान गर्ने ४ र एसईईमा सर्वोत्कृष्ट अङ्क लिई उर्तिण हुने ४ जना गरी २० जनालाई सम्मान गरिएको हो ।

अधिवेशनमा इलामको ठूलो टुडिखेलबाट सुरु भएको ¥याली चोकबजारमा आएर कोणसभामा परिणत भएको थियो ।

यायोक्खाका जिल्ला अध्यक्ष चित्र बहादुर राईको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा यायोक्खाका केन्द्रिय अध्यक्ष दिवस राई, उपाध्यक्षद्धय तिलक प्रसाद राई, अर्जुन जम्नेली राई, नेपाल आदीवासी जनजाति महासंघ इलामका अध्यक्ष अभिषेक एक्तेन, नेपाली काँग्रेसका प्रतिनिधि होम दुलाल र नेकपाका प्रतिनिधि नवराज शंकर लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

अध्यक्ष राईलाई कालो झण्डा

यसैबीच प्रमुख अतिथी रहेका किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष दिवस राईलाई कालो झण्डा देखाइएको छ ।

उनलाई एक समूहले कालो झण्डा देखाएका हुन् । पहिचान हुन नसकेका एक समूहले दिवस राईको राजिनामाको माग गर्दै कालो झण्डा देखाएका हुन् ।

उनीहरुले ‘दिवस राई मुर्दावाद’, ‘राई यायोक्खाको अध्यक्षबाट राजिनामा दे’, ‘राई विद्यार्थी संघको समस्या समाधान गर’ ‘राजनीतिकरण बन्द गर’ लगायतका नारा लगाएका थिए ।

कार्यक्रमको उद्घाटन लगत्तै ती समूहले दिवस राईविरुद्ध नारावाजी सुरु गरेका थिए । आफ्ना केन्द्रीय अध्यक्षलाई कालो झण्डा देखाएको घटनाप्रति किरात राई यायोक्खा इलामले खेद प्रकट गरेको छ ।

भिडियो हेर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार