देउमाइ नगरपालिका सूर्योदय मेयरकपको फाइनलमा प्रवेश

  नयाँ बुलन्द  132 पटक हेरिएको

इलाम : देउमाइ नगरपालिका इलामको सूर्योदय नगरपालिका १२ स्थित करफोकमा जारी दोश्रो सुर्योदय मेयरकपको फाइनल प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमीफाइनलमा शिवसतासी नगरपालिका झापालाई ४–२ गोल अन्तरले पराजित गर्दै देउमाई उपाधि नजिक पुगेको हो ।

देउमाईको लागि अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका कर्ण लिम्लूले २ गोल गरेपछि शिवसतासी सेमीफाइनलबाटै बाहिरियो । खेलमा उपहार गोलबाट देउमाईले अग्रता बनाएको थियो । १० औ मिनेटमा डिवक्सभित्रको बल क्लियर गर्ने क्रममा सञ्जित राईले आफनै पोष्टमा गोल गरे । ३२ औ मिनटेमा भुवन बस्नेतले खेल बराबरीमा ल्याए । ५७ औ मिनेटमा विकेश लिम्बुले देव्रे बार च्याप्दै देउमाईलाई अग्रता दिलाए । ६४ औ मिनटेमा डिवक्स बाहिर पाएको फ्रिकिकलाई जाली चुमाउदै सुशिल राईले खेल बराबरीमा ल्याए ।

खेल सकिन १० मिनेट बाकी रहँदा मैदान छिरेको कर्ण लिम्बूले लगातार गोल गरेपछि देउमाईले कम्तीमा १ लाख रुपैया सुरक्षित गरेको हो । ७५ औ मिनटेमा डि एरिया नजिकै कर्णलाई फाउल गरेपछि लक्ष्मण वेघा रातो कार्ड पाउँदै मैदान बाहिरिए । ७७ औ मिनेटमा डिवक्सभित्र पाएको अवसरलाई कर्णले बिना गल्ती गोलमा परिणत गरे । शिवसतासीले इन्जरी समयमा चौथो गोल व्यर्होयो । कर्णको फितलो प्रहार साइड बारमा लागेर गोल भयो ।

प्रतियोगिताको दोस्रो सेमीफाइनलमा विहीबार झापाको कन्काई नगरपालिका र मेचीनगर नगरपालिकाबीच हुनेछ ।

प्रतियोगिताका विजेताले नगद २ लाख र उपबिजेताले १ लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । त्यस्तै उत्कृष्ठ खेलाडी, उत्कृष्ठ गोलरक्षक सर्वाधिक गोलकर्ताले जनही ८ हजार रुपैयाँ पाउनेछन् ।

१८ जेठसम्म सञ्चालन हुने प्रतियोगितामा इलामका ४ र झापाका ५ गरी ९ वटा नगरपालिका टिमको सहभागिता रहेको छ । प्रतियोगितामा आयोजक सूर्योदय नगरपालिका सहित इलामका इलाम, देउमाई र माई नगरपालिका तथा झापाका दमक, शिवसतासी, कन्काई, मेचीनगर र अर्जुनधारा नगरपालिकाको सहभागिता थियो ।

खेलमा सहभागी टिमका १८ खेलाडी र २ अफिसियल सहित २० जनालाई यातायात खर्चको व्यवस्था आयोजकले गर्नेछ । प्रतियोगिता सम्पन्न गर्न २० लाख ८१ हजार ९ सय ९८ रुपयाँ खर्च हुने अनुमान गरिएको छ ।

खेलको माध्यमबाट पर्यटन क्षेत्रको विकास गर्ने र नगरपालिकाभित्रका युवाहरुलाई दुव्र्यसनबाट मुक्त गराई उत्कृष्ठ खेलाडी उत्पादन गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।

भिडियो हेर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार