राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्न इलाममा न्यून बजेट

इलाम : इलाममा ११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आउँदो असार ४ गते सम्पन्न गरीसक्नु पर्ने भएको छ ।

बिगतका बर्षमा क्षेत्रीय स्तरमा प्रतियोगिता सम्पन्न गरेर जिल्ला स्तरमा प्रतियोगिता सञ्चालन हुँदै आएको थियो । तर यस बर्षबाट प्रत्येक स्थानीय तहमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गरेर खेलाडी छनौट गरी जिल्ला स्तरमा प्रतियोगिता हुनेछ । स्थानीय तहबाट छनौट भएर आएका खेलाडी बिद्यार्थीले जिल्ला स्तरमा सहभागिता जनाउनेछन् ।

प्रतियोगितामा मार्सल आर्ट सम्बन्धिका तीनवटा कराँते, तेक्वान्दो र उसु खेल भने सिधै जिल्ला स्तरमा हुनेछ । बाँकि अन्य खेलहरुको छनौट स्थानीय तहमा हुने जिल्ला खेलकुद बिकास समिति इलामका अध्यक्ष बृहस्पति उपरकुटिले बताए । जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बरालको अध्यक्षतामा आइतबार सदरमुकाममा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

स्थानीय तहमा एथ्लेटिक्स, कबडडी र भलिबल खेलको छनौट हुनेछ । यी खेलहरुबाट कबडडी र भलिबलको टिम सहित एथ्लेटिक्सका बिभिन्न बिधाका खेलहरुबाट पहिलो दोस्रो स्थान हासिल गर्ने खेलाडीले जिल्ला स्तरीय प्रतियोगितामा सहभागिता जनाउनेछन् । जिल्ला स्तरमा हुने खेलबाट उत्कृष्ट ८४ जना खेलाडीलाई प्रदेश स्तरीय हुने राष्ट्रपति रनिङ शिल्डका लागि छनौट गरीने पनि उपरकुटिले जानकारी दिए ।

जिल्ला स्तरमा हुने प्रतियोगिताका लागि नेपाल सरकारबाट दुईलाख र स्थानीय तहका लागि एक÷एकलाख रुपैंयाँ बजेट प्राप्त हुनेछ । जिल्लामा दशवटा स्थानीय तह रहेको छ । जिल्ला स्तरमा प्राप्त हुने दुईलाख बजेटले एकछेउ पनि नभ्याउने समितिले जनाएको छ । खेलाडीका लागि ड्रेस सहित यातायात खर्च, प्रशिक्षण सबै गराउनका लागि कम्तिमा पनि दशलाख रुपैंयाँ बजेट आवश्यक पर्छ । तर दुईलाख बजेट बिनीयोजन गरेपछि आफूहरु अप्ठेरोमा परेको अध्यक्ष उपरकुटिको भनाई छ ।

बिगतका बर्षहरुमा पनि कम बजेट बिनीयोजन गर्दा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता प्रभावकारी बन्न नसकिरहेको उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार