स्वास्थ्य बीमा अब निशुल्क पनि

बुझौं स्वास्थ्य बीमा ,अनि थप भएका सेवा सुविधाहरु

  खेमराज अधिकारी   
70 Shares

नेपालको संविधान २०७२ ले आधारभूत स्वास्थ्य सेवालाई नेपाली नागरिकको मौलिक हकको रुपमा प्रत्याभूत गरेको छ ।संविधानको धारा ५१(ज)१५मा राज्यका नीतिहरु अन्तर्गत नागरिकको स्वास्थ्य बीमा सुनिश्चत गर्दै स्वास्थ्य उपचारमा पहँुचको ब्यवस्था मिलाउने भनि उल्लेख गरे अनुरुप नेपाल सरकारले स्वास्थ्य बीमालाई सक्रियताका साथ अघि बढाइरहेको छ ।

नेपाल सरकारले सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति मार्फत सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम (स्वास्थ्य बीमा) चरणवद्ध रुपमा लागुगर्ने गरि नेपालका तीन जिल्ला कैलाली, इलाम र बाग्लुङ्ग वाट गत वर्ष २०७३ साल देखि शुरु गरेको हो । नेपाली नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा उपभोग गर्दा ठूलो आर्थिक संकट व्यहर्नु नपरोस भन्ने लक्ष्यका साथ  स्वास्थ्य बीमा हाल नेपालका ४७ जिल्लामा लागु भैसकेको अवस्था छ ।

स्वास्थ्य बीमामा आवद्धताले आम नागरिकलाई विरामी पर्दा आर्थिक सुरक्षा प्रधान गर्छ । ५ जना सम्मको परिवारले रु. ३ हजार ५ सय रकम तीरि स्वास्थ्य बीमाको सदस्य वन्न सक्ने छन् भने ५ जना भन्दा माथि भएमा प्रत्येक थप सदस्य वरावर ७ सयको दरले लागत बढ्दै जान्छ ।

स्वास्थ्य सेवाको हकमा ५ जना सम्मको परिवारले १ लाख सम्म र प्रत्येक थप सदस्य वरावर २० हजारको दरले सेवाको दर बढ्दै जान्छ जुन क्रम अधिकतम् २ लाख रुपयाँ सम्म रहेको छ । सुविधामा नदोहोरिने गरि मिति २०७६ श्रावण १ गतेदेखि क्यान्सर,मुटु रोग ,मृगौला रोग ,हेड इन्जूरी , स्पाइनल इन्जुरी ,सिकलसेल एनिमिया , पार्किन्सोनिजम ,अल्जाइमर रोगलाई भने थप १ लाख रुपैया सम्मको सुविधा समेत पाउने सो नियमावलीले व्यवस्था गरेको छ ।

यो पारिवारिक बिमा हो । परिवारका प्रत्येक सदस्यलाई स्वास्थ्य बीमाको परिचय पत्र दिइन्छ सोही कार्ड बोकेर स्वास्थ्य समस्या भएमा सेवा लिन जान सकिन्छ ।  राष्ट्रवाट आम नागरिकले अपेक्षा गर्ने प्रमुख बिषय मध्ये स्वास्थ्य सेवामा पहुँच पनि एक हो । आज एउटा नेपाली विरामी पर्दा विरामी पक्षले उपचार खर्चको ५५ प्रतिसत भन्दा माथी आफ्नो गोजीको रकम खर्चनु परेको छ जुन खर्चमा अब स्वास्थ्य बीमाले सहायता गर्ने भन्ने रहेकोछ ।स्वास्थ्य बीमा नियमावली, २०७५ अनुसार ७० बर्ष उमेर पुगेका जेष्ठ नागरिकहरुलाई २०७६ साल बैशाख १ गतेबाट राज्यले रु ३५ सय रकम व्योरेर  निःशुल्क स्वास्थ्य बीमा गर्ने व्यवस्था भए अनुरुप स्वास्थ्य बीमा लागु भएका जिल्लाहरुमा सो अनुरुप काम भइरहेको छ ।

सो व्यवस्था अनुसार बिमितले १ लाख रुपैया सम्मको स्वास्थ्य उपचारमा सेवा पाइने हुन्छ । त्यस्तै उक्त नियमावलीमा अति अशक्त  अपाङ्गता रातो कार्ड भएका व्यक्तिको ,कुष्ठरोगी, एच.आइ.भी संक्रमित, जटिल खालका क्षयरोग भएका विरामीको भने परिवारलाई नै निःशुल्क स्वास्थ्य बीमा हुने व्यवस्था छ । महिला स्वास्थ्य स्वयम सेविकाहरुको परिवारलाई लागतको ५० प्रतिसत छुटको व्यवस्था छ ।यस्तै प्रचलित कानुन बमोजिम अति गरिवको परिचय प्राप्त परिवारको पनि निःशुल्क स्वास्थ्य बीमा हुने व्यवस्था छ ।

बैदेशिक रोजगारको शिलशिलामा श्रम स्वीकृति लिनु पर्दा स्वास्थ्य बीमा लागु भएका जिल्लाका नागरिकले अनिवार्य स्वास्थ्य बीमाको कार्डको प्रतिलिपि पेश गर्नु पर्ने व्यवस्था रहेको छ ।   स्वास्थ्य बीमाको सेवा प्रदायक संस्थाहरुमा स्वास्थ्य बीमा लागु भएका जिल्ला तथा छिमेकी जिल्लाका भिभिन्न सुचिकृत स्वास्थ्य संस्थाहरु रहेका छन् । त्यस्तै झापाका मेची अञ्चल अस्पताल, कन्काइ अस्पताल ,आम्दा अस्पताल, मेची आँखा अस्पताल, वि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, नोवेल अस्पताल विराटनगर , विराट मेडिकल कलेज, विर अस्पताल, मनोमहन कार्डियो भास्कुलर, पाटन अस्पताल, भरतपुर क्यान्सर अस्पताल, चितवन मेडिकल कलेज,  शुक्रराज सरुवारोग नियन्त्रण केन्द्र टेकु, प्रसुती गृह थापाथली , कान्ति वाल अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर, ट्रमा सेन्टर काठमाडौं ,कोशी अंचल अस्पताल आदि अस्पतालहरु स्वास्थ्य  सेवा दिने गरि सुचिकृत भएका छन् । स्वास्थ्य बीमाले समय समयमा सुचिकृत औषधिहरु थप गर्दै लगेर हाल ११ सय ३३ प्रकार औषधि पुर्याएको छ ।

घर लैजाने औषधिमा सुचिकृत औषधि भन्दा वाहेकका औषधि आवस्यक परेमा स्वास्थ्य बिमाले समेट्दैन तर अस्पतालमा भर्ना भएर उपचार गर्ने विरामीको भने एमुलेन्स सेवा र एम.आर.आई.सेवा वाहेक अरु सबै सेवा स्वास्थ्य बीमाले समेट्छ ।   करिव ३ वर्ष अघि ३ वटा जिल्ला वाट शुरु भएको स्वास्थ्य बिमा मुलुकका ४७ जिल्लामा पुगिसकेको छ । हिजोका दिनमा ३३० प्रकारका औषधि आज ११ सय ३३ प्रकारको भएको छ ।

सिमित स्वास्थ्य संस्थाहरुवाट शुरु स्वास्थ्य सेवा आज देशका प्रतिष्ठित स्वास्थ्य संस्थाहरु सम्म पुगेको छ । स्वास्थ्य बीमामा औषधि तथा स्वास्थ्य संस्थाहरु समय अनुसार थपघट हुन सक्दछन् । हाल कायम रहेका औषधि तथा स्वास्थ्य संस्था हेरेर भन्दा पनि  स्वास्थ्य बीमालाई दिगो र भरपर्दो सेवा प्रदायक आफ्नै संस्थाको रुपमा बुझेर सदस्य बनौं । हर क्षण बीमित सदस्यहरु तथा आम नागरिकहरुको हक, हित र सुझावलाई ध्यानमा राखेर काम गर्ने प्रयास हुने छ जसका लागि सवै पक्षको साथ , सहयोग र विश्वास चाहिन्छ ।

  खेमराज अधिकारी                         

  लेखक स्वास्थ्य बीमा बोर्ड ,इलामका दर्ता अधिकारी हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार