आत्महत्या गर्ने ज्वाइँ नै थिए त ती नकाबधारी ?

  नयाँ बुलन्द  180 पटक हेरिएको

काठमाडौ : सोमबार राती पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा विभत्स तरिकाले दुई परिवारको ९ जनाको सामूहिक हत्या भएको छ ।

हत्या हुनेहरुमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू रहेका छन् ।

आक्रमणमा १२ वर्षीया किशोरी सीता खुजुमले भने भागेर ज्यान जोगाउन सफल भइन् । आक्रमणकारीको पञ्जाबाट भागेर ज्यान जोगाउन सफल भएकी किशोरी सीताले मुकुन्डो लगाएर आएको व्यक्तिले हत्या गरेको प्रहरी समक्ष बयान दिइन् ।

सीता बमबहादुर फियाकको नातिनी हुन् । सीता मामाघर आएकी थिइन् । आक्रमणबाट सीता पनि गम्भीर घाइते भएकी छिन् । उनको दायाँ हात भाँच्चिएको छ । उनको हाल दमकमा उपचार भइरहेको छ ।

राती नै हत्या भए पनि प्रहरीले हत्याबारे बिहान मात्र खबर प्राप्त गरेको थियो । खबर प्राप्त हुनासाथ नजिकैको प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनास्थलमा पुगेको प्रहरी टोलीले घटनाको सामान्य अनुसन्धान गरिरहँदा सोही गाउँपालिकामा अर्को खबर आयो – वडा नम्बर ७ मा एक युवक झुण्डिएको अवस्थामा भेटियो ।

प्रहरीको एउटा टोली त्यतैतिर सोझियो । प्रहरीले मिक्लाजुङ गाउँपालिका –७ मा एक युवकको झुण्डिएको अवस्थामा शव देख्यो । प्रहरीले लगत्तै अनुसन्धान थाल्यो ।

प्रहरी अनुसन्धानको क्रममा झुण्डिएर आत्महत्या गर्ने व्यक्तिको पहिचान भयो  –मानबहादुर माखिम । मानबहादुर हत्या गरिएका ७४ वर्षीय बमबहादुर फियाकका कान्छा ज्वाइँ रहेको खुल्यो ।

प्रहरीका अनुसार घटनामा बाँच्न सफल सीता मानबहादुरको सालीकी छोरी हुन् ।

सुई मानबहादुरतिर

सामूहिक हत्या कसले गर्यो भनेर प्रहरीले आधिकारिक रुपमा केही खुलाएको छैन । तर, छिमेकी र परिवारका अन्य सदस्यको बयान र घटनामा बाँच्न सफल सीताको बयानले आत्महत्या गरेका मानबहादुरले हत्या गरेको हुनसक्ने आधारहरु देखाएका छन् ।

मानबहादुर र श्रीमती मनकुमारी फियाकबीच विगत केही वर्षदेखि पारिवारिक विवाद हुँदै आएको बताइएको छ । पारिवारिक विवादका कारण श्रीमती माइतीमा बस्दै आएकी थिइन् ।

सामान्य परिवारका मानबहादुरको श्रीमतीसँग सम्बन्ध राम्रो नभएको र झगडा भइरहने गरेकाले सम्बन्ध विच्छेदको अन्तिम तयारी समेत चलिरहेको थियो ।

यता, सीताले पनि घटनामा एक जना मात्र आक्रमणकारी देखेको बायन दिएको कारण मानबहादुरले पारिवारिक रिसिबीका कारण हत्या गरेको हुनसक्ने प्रहरीको भनाई छ ।

चार दिनअघि नुनमा सिसा मिसाइएको थियो

हत्या गरिएका धनबहादुर शेर्माको घरमा केही दिनअघि पनि अर्को घटना पनि घटेको पाइएको छ । मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष उर्मिला राईका अनुसार धनराज शेर्माको घरमा ४ दिनअघि मात्र अर्को रहस्यपूर्ण घटना घटेको थियो ।

उपाध्यक्ष राईका अनुसार गाउँमा धनराज शेर्मा सानो पसल सञ्चालन गर्दै आएका थिए ।

केही दिनअघि प्रशिक्षण दिनका लागि साना घरेलु विकास कार्यालयबाट एक टोली गाउँमा आएका थिए । एक स्थानीयका अनुसार मानबहादुर पनि त्यहीँ थिए ।

त्यतिबेला उनीहरुका लागि बनाइएको खानामा प्रयोग गरिएको नुनमा सिसाको धुलो हालेको पाइएको थियो । जसले गर्दा टोलीका सदस्यहरु नै बिरामी परेका थिए ।

उपाध्यक्ष राईले भनिन्, ‘त्यो खाना खाएर केही मान्छे बिरामी परेका थिए । त्यसको ४ दिनपछि अहिले परिवारैको हत्या भएको छ । घटना रहस्मय छ ।’

खानामा कसले सिसाको धुलो भएको नुन हालेको भन्ने विषयमा अनुसन्धान भइरहँदा ४ दिनपछि यस्तो घटना घट्नुले धेरै प्रश्नहरु उब्जाएको वडाध्यक्ष राईले बताइन् ।रातोपाटी बाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार