दुवै मिर्गौला फेल भएका चापागाईद्वारा सहयोगको याचना

  राम योङहाङ  376 पटक हेरिएको

लाम : दुवै मिर्गौला फेल भएर मृत्युसँग संघर्ष गरिररहेका इलामका एक व्यक्तिले सहयोगको याचना गरेका छन् । इलामको सूर्योदय ६ कन्यामका ५१ वर्षीय मित्रप्रसाद चापागाईले उपचारका लागि सहयोगको याचना गरेका हुन् ।

चापागाईका परिवारले आइतबार इलाम सदरमुकाममा पत्रकार सम्मेलन गरी चापागाईलाई बचाउन उद्योगी, व्यापारी, समाजसेवी एवम् स्रचाकर्मीहरुलाई सहयोग गरिदिन अपिल गरेका छन् । उनको परिवारले चापागाईलाई बचाउन विदेशमा रहेका नेपालीहरुलाई समेत अपिल गरका छन् ।

विगत ६ महिनादेखि दुवै मिर्गौला फेल भएपछि चापागाई हाल शिक्षण अस्पताल काठमाडौंमा उपचाररत छन् । उनको उपचार गर्न आर्थिक समस्या खड्किएकाले सहयोगको याचना गर्नुपरेको मित्रका भतिज हेमचन्द्र चापागाईले बताए ।

‘सातामा २ पटक डायलासिस गरिरहनु परेको छ । त्यसका लागि १० हजार रुपैयाँ लाग्छ । महिनामा डायलासिसमा मात्र ४० हजार बढी खर्च लाग्छ’ मित्रका भतिज भतिज हेमचन्द्र चापागाईले भने, ‘भएजति जायज्यथा समेत सकियो । अब काकालाई बचाउन सबैसँग सहयोग माग्नुको विकल्प रहेन ।’

मित्रप्रसादको गत मंसिरमा मात्र दुवै मिर्गौला फेल भएको पत्ता लागेको थियो । जीविको गुजार्न राजधानीका विभिन्न होटलमा कुकको काम गर्दै आएका मित्रप्रसाद पछिल्लो डेढ वर्ष भारतको दार्जिलिङको होटलमा कुकको काम गर्दै आएका थिए ।

उतै रहँदा विरामी भएपछि घर फर्किएका चापागाईले सुरुसुरुमा उच्च रक्तचापको औषधि सेवन गर्दै आएका थिए । पछि विपाबको विरामले च्यापेपछि भारतको सिलगुढी लगेपनि रोग पत्ता नलागेपछि काठमाडौंको शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँबाट मात्र दुवै मिर्गौला फेल भएको पत्ता लागेको मित्रका दाजु यादव चापागाईले बताए ।

निम्न मध्यम परिवारका मित्रप्रसादको अंशमा परेको डेढ रोपनी जग्गा पनि यसअघिको उपचारमा नै सकिएकाले अहिलो समस्या आएको परिवारजनको भनाई छ । ‘उहाँको उपचारमा हालसम्म करिब १० लाख सकिएको छ । भएको डेढ रोपनी जग्गा पनि उपचारमै सकियो । प्रत्यारोपणका लागि करिब २२ लाख खर्च लाग्ने चिकित्सकहरुले बताएका छन्’ मित्रका भतिज हेमचन्द्रले भने, ‘पैसाको अभावमा अस्पतालमा छट्पटाईरहनु भएका काकाको उपचारका लागि सबैसँग अनुरोध गर्दछौं ।’

मित्रप्रसादको उपचारको सहयोगार्थ स्थानीय कन्याम टोलविकास संस्थाको अगुवाईमा समिति गठन गरी सहयोग जुटाउन थालिएको छ । संस्थाको अध्यक्ष लेखनाथ दाहाल र मित्रप्रसादका भतिज हेमचन्द्रको संयुक्त दस्तखतमा संचालन हुने गरी ग्लोबल आइएमी बैंकमा बैंक खाता खोलिएको अध्यक्ष दाहालले बताए ।

मित्रप्रसादका एक पत्नी, एक छोरा र छोरी छन् ।

मित्रप्रसादलाई सहयोग गर्न इच्छुकलै बैंक हिसाब नम्बर २७०७०१०००९४५४ मा रकम जम्मा गरिदिन परिवारजनले आग्रह गरेको छ ।
.

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार