प्रकृतिको पूजा गरी किरातीहरुले उभौली मनाए (भिडियो सहित)

  राम योङहाङ  162 पटक हेरिएको

इलाम : किरात समुदायको महान् चाड उभौली पर्व शनिबार इलामसहित देशभर विभिन्न कार्यक्रम गरी मनाईएको छ । किराती रीति र परम्परा अनुसार भूमिको पूजा गरी यो पर्व मनाइएको हो ।

किरातीहरुको बाहुल्यता रहेको क्षेत्रमा उभौली धुमधामका साथ मनाइएको हो । यो पर्व राई, लिम्बू, याख्खा, सुनुवार र भुजेल जातीले आआफ्नै तरिकाले मनाएका छन् । पर्वको अवसरमा ती समुदायले शनिबार बिहानैदेखी प्रकृती, देवीदेवता र भुमीको पूजा अर्चना गर्दै र एक आपसमा शुभकामना बाँड्दै यो पर्व मनाए ।

यस पर्वका विषयमा स्थान र परम्परा अनुसार विभिन्न मिथक सुनिन्छन् । पृथ्वीमा कृषि युगको सुरुआत भएदेखि नै यो चाड प्रचलनमा आएको विश्वास गरिन्छ । उभौलीलाई समुदाय, ठाउँ र भाषागत भिन्नता अनुसार विभिन्न नामले पुकारिन्छ ।

हेर्नुहोस् भिडियोमा लिम्बू समुदायको उभौली (यक्‍वा तङनाम) :

किरातीहरु प्रकृतिपूजक भएकाले प्रकृतिलाई खुसी पार्नका लागि हरेक वर्ष यो पर्व मनाउने गर्दछन् । किरातहरुको यो पर्व पृथ्वीमा कृषि युग सुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ ।

अन्नबाली राम्रोसँग सप्रियोस्, पानी परोस्, कीरा, फट्याँङ्ग्रा तथा जङगली जनावरले दुःख नदिउन्, सबैमा सुख, शान्ति, सुस्वास्थ्य, दैवीप्रकोप तथा विपत्ति नआओस् भन्दै उभौली पर्व मनाइन्छ । तराईतिर गर्मी बढेर माछा, पशुपक्षी, चराचुरुङ्गी, कीरा फट्याङ्ग्रा समेत उँभो चिसो लेकतिर बसाइँ सर्छ भन्ने विश्वासले वैशाख पूर्णिमामा मनाइने पर्वलाई उभौली भनिएको किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष यामप्रसाद लिम्बूले बताए ।

किरात लिम्बू समुदायले इलाम नगरपालिका ६ बालनगाउँमा पूजाअर्चना, शुभकामना आदानप्रदान र साँस्कृतिक कार्यक्रम गरी अभौली पर्व (यक्वा तङनाम) मनाएको छ । किरात याक्थुङ चुम्लुङ इलामले आयोजना गरेको कार्यक्रममा केलाङ (च्याब्रुङ नाच), याःलाङ (धान नाच) सहित शुभकामना आदानप्रदान समेत गरिएको थियो ।

किरात याक्थुङ चुम्लुङ इलामका अध्यक्ष गायत्री थेगिमको अध्यक्षतामा भएको कार्यक्रममा चुम्लुङका केन्द्रीय उपाध्यक्ष यामप्रसाद लिम्बू, केन्द्रीय सदस्य विष्णु लिम्बू, जिल्ला सल्लाहकार तथा याक्थुङ फाःसिङ सजुमका अध्यक्ष बखतबहादुर आङदेम्बे, याक्थुङ सास्कृतिक परिषदका केन्द्रीय सदस्य पदम ताम्लिङ, बालनगाउँ सामुदायिक घरबास कार्यक्रमका अध्यक्ष बसन्त सुब्बा, फेदाङबा डिकबहादुर लिम्बूलगायतले समसामयिक मन्तव्य राखेका थिए ।

त्यस्तै किरात राई समुदायले साकेला नाच, मौलिक पोषाकहरुको प्रदर्शनी र पुजाआजा गरि बिभिन्न कार्यक्रमका साथ इलाममा यो पर्व मनाएका छन् । उभौलीको अवसरमा किरात राई समुदायले मौलिक नाच र झाँकी प्रदर्शन गरे । उनीहरुले इलाम नगरपालिका २ मा रहेको ओपीधारामा रहेको साकेला थानमा पुजाअर्चना सहित शुभकामना आदानप्रदान गरेका छन् ।

किरात राई यायोक्खा इलाम नगरले आयोजना गरेको कार्यक्रममा यायोक्खाका केन्द्रीय सचिव कृष्ण खालिङले राज्यले आदिवासी भूमितपुत्रलाई वेवास्ता गरेको आरोप लगाए । उनले समृद्धिको नाममा आदिवासी जनजातिहरुको पर्वको विदा कटौती गरेर आफूहरुमाथि अन्याय गरेको भन्दै तत्काल सच्याउन माग गरे । कार्यक्रम नगर अध्यक्ष रुपधन राईको अध्यक्षतामा भएको थियो ।

पहिलो दिनमा घरघरमा लिपपोत गरिन्छ । आफ्ना पिता पुर्खाले मानेको तीन चुलो ढुङ्गाको विधिपूर्वक पूजा समेत गरिन्छ । किरात समुदायले वैशाख शुक्ल पूर्णिमादेखि एक महिनासम्म यो पर्व मनाउने गर्दछन् ।

हेर्नुहोस् भिडियोमा राई समुदायको उभौली :

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार