उभौली पर्व अर्थात यक्‍वा तङ्नाम

  मोहनसिंह थेवे  332 पटक हेरिएको

मोहनसिंह थेवे

सिबेरा एक्थुक्माले माइतीले शिकार गरी ल्याएको ढुकुरको गाँडबाट निस्केको वस्तुलाई हाडको खन्ती बनाई जमिनमा पुरे । ति पुरिएका वस्तु नै उम्रेर फले । ति फलेका वस्तुहरू नै घैया धान, ताम्रे कोदो, फापर, जस्ता अन्नको विकाससँगै नामाकरण भयो । कालान्तरमा सिबेराका सन्तान दारसन्तानले भोजनको रुपमा अन्नवालीको उपभोग गरे । तर गलगाँड हुने, कानदुख्ने, पाक्ने, दाँत दुख्ने, मुट्टा दुखने जस्तो रोग व्याधीले ग्रस्त बनाए । के ले यस्तो बित्तल पर्यो भनि तागेरा माङसँग यिनै आदिम पुरुषहरूले अलाप विलाप गरे । तागेरा माङले दिएको सन्देश अनुसार न्वाँगी गरी मुक्त गरे । जसले चासोक-थिसोक गर्ने चलन बस्दै आयो । रोगबाट त मुक्त भए तर छरपख वा वालीनाली लगाउने समय आयो छरपख गर्ने समयमा औधी घाम लागेर सबै बोट विरुवा भने मर्न थाले, पानीको स्रोत सुक्न थाल्यो ।

विश्वका प्राचिनतम जातिहरूमा किरात पनि एक हो । किरात जातिको उल्लेख ऋगवेददेखि भएको सर्वविदितै छ । किरात समुदायको सदस्यहरू मध्ये याक्थुङ्बा (लिम्बू) पनि एक हो । याक्थुङ्बाले मुन्धुम अनुसार दैनिक जीवन यापन गर्नु नै आफ्नो धर्म ठान्दछन् । याक्थुङ्बाको विभिन्न प्रकारको मुन्धुमको गायन र वाचन गर्ने आफ्नै पद्धति हुन्छ । उठान गर्दादेखि अन्तसम्म विशिष्ट शैली छन्द र लयको प्रयोग गरिएको पाइन्छ । जस्तै युमा साम्माङ, थेबा साम्माङ र हिम साम्माङको मुन्धुमका भाषा, छन्द र लय पनि भिन्न-भिन्न र रोचक हुन्छ ।

याक्थुङ्बा मुन्धुममा युमालाई तान बुन्ने पहिलो शक्तिको रुपमा मानिन्छ । मुन्धुमलाई कार्यान्वयन गर्न–गराउने तु–तुम्याहाङको भूमिका प्रमुख मानिन्थ्यो र मानिन्छ । तु–तुम्याहाङको उपस्थितिमा मात्र पूजा अनुष्ठानहरूले सामाजिक मान्यता पाउँथ्यो र पाउँछ । मुन्धुमको जिवन्तता दिने सिङफेदाङबा, साम्बा, येबा नै हुन् । यिनीहरू वंशज उत्तराधिकारी हुँदै जाने क्रम अद्यावधी कायम रहेको पाइन्छ ।

फेदाङबा, साम्बाहरू पनि विभिन्न उपनामले  सम्बोधन गरिएको पाइन्छ । उनीहरूले मुन्धुम फलाक्दा कम्पन सहित लय हाल्दै फलाक्नछन् । यो नै याक्थुङ्बाको जिउँदो संस्कृति हो । यिनै जिउँदो संस्कृति भित्र अनुष्ठान गर्दा अस्थाई देवस्थल वा थान बनाई पूजा सम्पन्न गर्दछन् । पूजा सम्पन्नपछि थान-थपना भत्काइन्छ । याक्थुङ्बाको पूज्य तथा मानि आएका युमा साम्माङ, हिम साम्माङ, चासोक, यक्वा, नाहेन, तङ्सिङ प्रमुख हुन् । याक्थुङ्बा समुदायले मानी ल्याएका चाडपर्वहरूमा यक्वा तङनाम, मुबेक्वा तङ्नाम वा चासोक तङ्नाम, सिशेक्वा तङ्नाम, वलीहाङ तङ्नाम प्रमुख पर्वहरू पर्दछन् । यी पर्वहरू मध्ये यक्वा तङ्नाम वा उभौली पर्वको संक्षेपमा प्रस्तुत गर्न जर्मको गरिएको छ ।

यक्वा तङ्नाम वा उभौली पर्व माघ १ गते देखि शुरु हुन्छ । यक्वाको शाब्दिक अर्थ छर पखको समय भन्ने अर्थबोध हुन्छ । यो पर्वको अनुष्ठान पूजा अर्चना माघदेखि जेठ महिनासम्म गर्ने चलन थियो र छ । उभौलीको अनुष्ठान याक्थुङ्बा समुदायमा अनिवार्य मानिन्छ । उभौलीको पूजा आर्चना लिम्बू समुदायहरूमा प्रत्येक घर-घरमा अनिवार्य गरिन्थ्यो र गरिन्छ । तर शहरी क्षेत्रमा वस्ने सुब्बा लिम्बुहरूले त्यति गरेको पाइदैन । (किनकी याक्थुङबाबाट सुब्बा भई सकेको हुनुपर्दछ ।) वा यक्वा वा उभौली पर्वबाट बेखबर छन् ।

उभौली पर्व वा पूजा किन गरिन्छ ? भन्ने प्रश्नमा याक्थुङबा समुदायका जानकार, फेदाङ्बा, साम्बा, तुम्याहाङहरूको जानकारी अनुसार लेप्मुहाङको उपदेशले गर्दै आएको हो । लेप्मुहाङले जलचर, वनस्पतिको सृष्टीपछि मानवको उत्पति भयो । मानव बलले बाँच्नका लागि अन्नबाली लगाउन सिके । सिबेरा एक्थुक्माले माइतीले शिकार गरी ल्याएको ढुकुरको गाँडबाट निस्केको वस्तुलाई हाडको खन्ती बनाई जमिनमा पुरे । ति पुरिएका वस्तु नै उम्रेर फले । ति फलेका वस्तुहरू नै घैया धान, ताम्रे कोदो, फापर, जस्ता अन्नको विकाससँगै नामाकरण भयो ।

कालान्तरमा सिबेराका सन्तान दारसन्तानले भोजनको रुपमा अन्नवालीको उपभोग गरे । तर गलगाँड हुने, कानदुख्ने, पाक्ने, दाँत दुख्ने, मुट्टा दुखने जस्तो रोग व्याधीले ग्रस्त बनाए । के ले यस्तो बित्तल पर्‍यो भनि तागेरा माङसँग यिनै आदिम पुरुषहरूले अलाप विलाप गरे । तागेरा माङले दिएको सन्देश अनुसार न्वाँगी गरी मुक्त गरे । जसले चासोक-थिसोक गर्ने चलन बस्दै आयो । रोगबाट त मुक्त भए तर छरपख वा वालीनाली लगाउने समय आयो छरपख गर्ने समयमा औधी घाम लागेर सबै बोट विरुवा भने मर्न थाले, पानीको स्रोत सुक्न थाल्यो । पृथ्वीमा आठ वटा घाम लागे झै लाग्ने किटपतङ्ग, वनस्पति, जनवार सबै आकुल व्याकुल बन्न पुगे । यो आपत विपत्त केले यसो भयो भनि आदिम याक्थुङ्बाहरूले तागेरामाङ्सँग सोधनी गरे । तागेरा निङ्वाफूमाङको सन्देश अनुसार सिबेरा एक्थुक्माले सबै जल थल हावापानीको सम्बोधन गरी अन्न विजन धर्तीमा लगाए ।

उनै सिबेरा एक्थुक्मालाई सम्बोधन नगरी वा बिना अनुमति आफू खुशी छरपख गरेकोले यसबाट मुक्त हुनलाई तपशिल अनुसार पुजा गर्ने उपदेश भयो । यक्वा अनुष्ठान गर्ने व्यक्तिहरू चोखो तथा सफासुग्घर भई गच्छे अनुसारको अन्न विउविजन भेला गरी चढाउँने र छरपख चढाएका अन्नपातको विउविजन आ–आफ्नो खेती वालीमा रोप्ने सन्देश प्राप्त गरे । आदिम कालमा पूर्खाहरूले तागेरामाङ निंवाभूमाङको सन्देश अनुरुप अनुष्ठान गरी प्राकृतिक प्रकोपबाट बाँच्न उपाय प्राप्त गरे । छरपख गर्दा वाली लगाउँदा बज्र नपारोस, असिाना नपरोस, आँधीवेहरी नआवस, अनेकन रोगहरू नउब्जोस, खडेरी नलागोस अमृतमय अन्न उब्जाउने पानी परोस, प्राण पखेरु बचाउने अमृतमय हावा बहोस, अनिष्ट नहोस, बाढी पहिरो नबगोस् भनी अनुष्ठान गरी प्राकृतिक विपत्तिबाट सुरक्षित भएका थिए ।

यिनै लोक आख्यान बमोजिम आदिमकाल देखि वर्तमान कालसम्म याक्थुङ्बा समुदायले उभौली पूजा गर्दै आ रहेका छन् । उभौली पूजा गर्दा सर्वप्रथम घर–घरमा गरिन्छ र त्यसपछि सामुहिक सेवा गर्ने परम्परा छ । यो अनुष्ठानमा विउ विजन, रङ विरङका ध्वजा निगालोको लिङ्ग तितेपाती बिलौनी, बाँसको पात, चामल, केराको पात, जस्ता समानहरू प्रयोग गरिन्छ । यसका अलावा कुखुरा, परेवा, बाख्राका पाठा, अण्डाको पनि प्रयोग गर्ने प्रचलन छ । आज भोली साधा फलफूलले अनुष्ठान गर्दै लागेको पाइन्छ । यक्वा अनुष्ठानको फेदाङ्बा मध्ये सिंङ फेदाङबा, तुम फेदाङबाको महत्वपूर्ण भूमिका रहेको पाइन्छ । पूजा अनुष्ठान गर्दा आफू बसेको ठाउँभन्दा माथि डाँडामा गर्ने गरिन्छ । डाँडाको माटो खनि खोर्सि माटोको ढिक्का लगभग चार मिटर जति लम्बाइमा तयार गरिन्छ । यो तयार भएको माटो माथि ढुङ्गा र ध्वजा पत्का लिङ्गो गाढिन्छ । यी गाढिएका ढुङ्गाहरू हिमालका श्रीखला महाभारतका श्रीखला र चुरेका श्रीखलाबाट बग्ने खोलानालाहरूको प्रतिक मानिन्छ । जस्तो टिष्टा, रंगित, बालसन, मेची, सिद्धि, मायु, जोगमाई, माई, पुवा, देउमाई, राते, हेँवा, आप्ताङ्वा, तिदाङ्वा, तमोर,काबेली र अरुण नदीलाई विशेष गरि यो पूजामा सम्बोधन गरिन्छ । यसका अतिरिक्त यी नदिहरूले सिचित गरेका क्षेत्र भित्र ताल तलाउ, पोखरी, ओडार, गुफाका धनि तकसङ् माङ, ताम्भूङ माङ, खजमा र नागनागीनी वा इक्सालोति खाम्बेक लोतिको अनुष्ठान गरिन्छ ।

निष्कर्षमा के भन्न सकिन्छ भने लेप्मुहाङको उपदेश अनुसार लिम्बू समुदायले व्यक्तिगत, सामुहिक उभौली पूजा गर्दै आएछन् । आज आइपुग्दा लिम्बू जन्य संस्था किरात याक्थुङ चुम्लुङले यसलाई मौलिक पर्वको रुपमा स्थापित गरेको छ । याक्वा वा उभौलीको पूजा डाँडामा र उधौली पूजा खोला गहिरो ठाउँमा पूजा सम्पन्न गरिन्छ । याक्थुङ्बा बाहेक खम्बू याक्वा सुनुवारहरूले पनि उभौली पर्व मनाउने गरेको पाइन्छ ।

यसअघि प्रकाशित यो लेख समयसान्दर्भिक भएकाले पुन प्रकाशित गरेका छौं ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार