अखिल (क्रान्तिकारी) इलामका सचिव निलम्बित

  नयाँ बुलन्द  245 पटक हेरिएको

इलाम : अखिल (क्रान्तिकारी) जिल्ला समिति इलामका सचिव विपन तुम्रोक निलम्बनमा परेका छन् । क्रान्तिकारीको सोमबार बसेको पदाधिकारी बैठकले तुम्रोकलाई संगठनको सचिवबाट र महेन्द्र रत्न बहुमुखी क्याम्पस इकाई इन्चार्ज पदबाट ६ महिनाका लागि निलम्बन गरेको हो ।

संगठनको गोपनियता भंग गरेको, नेतृत्वको निर्देशनलाई पालना नगरेको, त्रिभुवन बिश्वबिद्यालयको शिक्षा शास्त्र संकाय दोश्रो वर्षको परिक्षाका क्रममा परिक्षाको मर्यादा कायम नगरे वापत नतिजा रद्द भएर आएको बिषयमा प्रध्यापकमाथि धम्कीपूर्ण भाषा प्रयोग गरि संगठनको पदीय हैसियतलाई भुलेर अनुशासनहीन कार्य गरेको, क्याम्पसमा आन्दोलनका क्रममा तालाबन्दी नगराउन जिल्ला समितिले गरेको निर्देशन पालना नगरी संगठनको तालाबन्दि नगर्ने निर्णय विपरीत कार्य गरेको, संगठनभित्र अराजकता निम्त्याउन र गुटबन्दी गर्न अग्रसर रहेको, स्पष्टीकरणमा चित्त बुझ्दो जवाफ नआएको भन्दै निलम्बन गरेको अखिल (क्रान्तिकारी) ले जनाएको छ ।

त्यस्तै बैठकले कार्यवहाक सचिवको जिम्मेवारी संगठनका सहसचिव मनिष लिम्बूलाई दिइएको अखिल (क्रान्तिकारी) जिल्ला समिति इलामका अध्यक्ष विपिन पोख्रेलले जानकारी दिएक छन् ।

बैठकमा ३ जनाको मात्र हस्ताक्षर !

अखिल (क्रान्तिकारी) जिल्ला सचिव विपन तुम्रोकलाई निलम्बन गरेको भनिएको पदाधिकारी वैठकमा ३ जनाले मात्र हस्ताक्षर गरेका छन् ।

६ पदाधिकारीमध्ये ३ जनाको मात्र हस्ताक्षर हुनुले संगठनमा फूटको संकेत देखिएको छ । तुम्रोकलाई कारवाही गरेको भनिएको बैठकको निर्णय पुस्तिकामा अध्यक्ष विपिन पोख्रेल, सहसचिवद्वय मनिष लिम्बू र नयन राईले हस्ताक्षर गरेका छन् । उपाध्यक्ष प्रमिला तामाङ, सचिव विपन तुम्रोक र कोषाध्यक्ष अस्मी लिम्बूले हस्ताक्षर गरेका छैनन् । यसरी हेर्दा पदाधिकारीबीच नै फाटो देखिएको छ । २७ सदस्यीय जिल्ला समितिमा दुई खेमा हुने प्रष्ट देखिएको छ ।

केन्द्रीय सदस्य सन्धिभक्त शंकरको हस्ताक्षर भएपनि उनी माथिल्लो समितिको सदस्य भएकाले  पदाधिकारी होइनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार