माङसेबुङ : आर्थिक वर्ष २०७६/०७७ का लागि योजना छनौट तथा प्राथमिकीकरण सम्बन्धी दुई दिवसीय अभिमुखीकरण कार्यक्रम इलामको माङसेबुङ गाउँपालिकामा सकिएको छ ।
गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको लागि माङसेबुङ गाउँपालिकाले अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा सहजकर्ता राम योङहाङ र राम रिमालले सहजीकरण गरेका थिए ।
कार्यक्रममा योजनाको अवधारणा, स्थानीय तहको वार्षिक योजना र वजेट तर्जुमा, पूर्व तयारी, श्रोत अनुमान तथा वजेट सिमा निर्धारण, वस्ती एवं वडास्तरमा योजना तर्जुमा प्रक्रिया, गाउँकार्यपालिकामा योजना तर्जुमा र स्वीकृति, योजना कार्यान्वयन, अनुगमन तथा कार्यान्वय, स्थानीय सरकारको वार्षिक जेट तथा कार्यक्रम तर्जुमा सम्बन्धी छलफल भएकव थियो ।
आगामी आर्थिक वर्षका लागि वस्ती तहमा योजना छनौटको पूर्व सन्ध्यामा कार्यक्रमको आयोजना गरेको हो । स्थानीय तहको योजना तथा वजेट तर्जुमाका सात चरणमध्ये तेश्रो चरणको वस्ती स्तरका योजना छनौट वैसाख मसान्तभित्र गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।
त्यस्तै जेठ १५ भित्र वडा तहमा योजना छनौट तथा प्राथमिकीकरण गरिसक्नुपर्ने, असार ५ भित्र बजेट तथा कार्यक्रम तर्जुमा गरिसक्नुपर्ने, असार १० सम्म गाउँ तथा नगरपालिकाबाट बजेट तथा कार्यक्रम स्वीकृति गरिसक्नुपर्ने, असार १० भित्र गाउँ वा नगर सभाबाट बजेट तथा कार्यक्रम प्रस्तुती र असार मसान्तसम्म बजेट तथा कार्यक्रम स्वीकृति गर्ने कानुनी व्यवस्था छ । स्वीकृत भएको बजेट तथा कार्यक्रम साउन १५ देखि कार्यान्वयन सुरु हुनेछ ।
माङसेबुङ गाउँपालिकाले यसअघि स्थानीय तहको योजना तथा वजेट तर्जुमाका चरणमध्ये पहिलो र दोस्रो चरणको काम सम्पन्न गरिसकेको छ ।