आमन्त्रित नकआउट भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा

  सुजता सुनुवार
0 Shares

इलाम : इलाम जिल्लामा नै पहिलो पटक हुन लागेकोे भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

आउँदो वैशाख २६ गतेबाट इलाम सदरमुकामको ठूलो टुडिखेलमा हुन लागेको प्रथम इलाम आमन्त्रित नकआउट पुरुष भलिबल प्रतियोगितामा सहभागी टिम छनोट, प्रतियोगिताको व्यवस्थापन लगायतका पक्षका कार्य सकिएको आयोजक जिल्ला भलिबल संघ इलामका अध्यक्ष डाकप्रसाद गौतमले शनिबार भएको प्रेस मिटमा जानकारी दिए ।

उनका अनुसार, प्रतियोगितामा छिमेकी राष्ट्र भारत सहित १० टिमको सहभागीता रहनेछ । यी मध्ये दुई टिमले भने केही दिन पछि मात्र निणर्य दिनेछ । वैशाख २९ गते फाइनल खेल हुने प्रतियोगिताको विजेताले नगद एक लाख ५१ हजार र उपविजेताले नगद ८१ हजार रुपैंयाँ सहित ट्रफि, मेडल र प्रमणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

जिल्लाका सबै विद्यालयमा भलिबल खेलका खेलाडीहरु उत्पादन गरेर खेलको माध्यमबाट जिल्लामा खेल पर्यटनको विकास गर्ने उद्देश्यका साथ यो प्रतियोगिताको आयोजना गरिएको आयोजक संघले जनाएको छ ।

करिब साढे १४ लाख रुपैंयाँ खर्च लाग्ने अनुमान गरिएको यस प्रतियोगिताको पहिलो पुरस्कार नगर खेलकुद विकास प्रतिष्ठान इलामले प्रायोजन गरेको छ भने दोस्रो पुरस्कार सन्दकपुर र माईजोगमाई गाऊँपालिकाले प्रायोजन गरेको संघका कोषाध्यक्ष प्रविन गुरुङ्गले बताए । अन्य व्यवस्थापनका रकम भने वैदेशिक रोजगारीमा गएकाहरुबाट र जिल्लाका स्थानिय विभिन्न संघसस्था र रसिदबाट संकलन गरिनेछ ।

आयोजकले खेलाडीहरुलाई खाने र बस्नेको व्यवस्थासम्मको सुविधा दिनेछ । पूर्वाञ्चलमा तीन लाख ५१ हजार पुरस्कार राशीको ताप्लेजुङ्गमा भएको प्रतियोगिता पछि इलामले गरेको प्रतियोगिता नै दोस्रो प्रतियोगिता भएको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार