नेतृत्व विकास र उद्घोषण तालिम सकियो

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका-३ चतुरेमा आयोजित चार दिने नेतृत्व विकास र उद्घोषण तालिम शुक्रबार सकिएको छ ।

माङसेबुङ गाउँपालिकाको आयोजना र नेपाल आदिवासी जनजाति महासंघ गाउँ समन्वय परिषद माङसेबुङको आयोजनामा भएको तालिममा आदिवासी जनजाति महासंघमा आवद्ध विभिन्न जातीय संस्थाका ५० बढीको सहभागिता रहेको थियो ।

तालिमका सहभागीहरुलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाका अध्यक्ष देशराज नेम्बाङ र फोनिज इलामका अध्यक्ष राम योङहाङले सहजीकरण गरेका थिए ।

नेपाल आदिवासी जनजाति महासंघ गाउँ समन्वय परिषद माङसेबुङको अध्यक्ष डिल्लीकुमार राईको अध्यक्षता तथा माङसेबुङ गाउँपालिकाका सामाजिक विकास सिमितका संयोजक वडा नम्बर ५ का अध्यक्ष नरेन्द्रकुमार राईको प्रमुख आतिथ्यतामा तालिमको समापन भएको थियो । समापन कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष मैतराज राई, संघीय समाजवादी फोरम नेपाल माङसेबुङ गाउँपालिकाका अध्यक्ष किसान खजुम, सहजकर्ता राम योङहाङ, रेडियो माङसेबुङका स्टेशन म्यानेजर सुमन लावतीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमका वक्ताहरुले आदिवासी जनजातिहरुलाई अध्ययनशील भएर आदिवासीहरुको हक अधिकारको रक्षाका लागि लाग्न अनुरोध गरेका थिए । नेपालको संविधान, स्थानीय सरकार संचालन ऐन तथा विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय कानुनले व्यवस्था गरेको आदिवासी जनजातिको हक अधिकारलाई स्थापित गर्न एकजुट भएर अगाडि बढ्न आग्रह गरेका थिए । वक्ताहरुले लैंगिक समानता तथा सामाजिक समावेशीकरणका लागि आफूहरु समेत लागिपर्ने प्रतिवद्धता जनाएका थिए ।

नेपाल आदिवासी जनजाति महासंघ गाउँ समन्वय परिषद माङसेबुङका उपाध्यक्ष याम मगरले स्वागत गरेको कार्यक्रमको संचालन सचिव राजेन्द्र नेम्बाङले गरेका थिए ।

यसअघि नेपाल आदिवासी जनजाति महासंघ गाउँ समन्वय परिषद माङसेबुङकै आयोजनामा वैसाख १५ र १६ गते दुई दिवसीय देवानी (संहिता) ऐन २०७४ सम्बन्धी सचेतना कार्यक्रम समेत सम्पन्न भएको थियो । कार्यक्रमको सहजीकरण अधिवक्ता यामप्रसाद लिम्बूले गरेका थिए ।

दुवै कार्यक्रमको समापन शुक्रबार गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार