इलाममा सुरक्षित गर्भपतन गर्नेको संख्या ६९६

  नयाँ बुलन्द  87 पटक हेरिएको

इलाम : इलाममा सुरक्षित गर्भपतन सेवा शुरु भएयता पाँच हजार एकसय सात जनाले यो सेवा लिएका छन् । यो सङ्ख्या आर्थिक वर्ष २०७१÷०७२ देखि २०७६ पुष महिना सम्मको हो । इलाममा २०७१ मङ्सिरदेखि यो सेवा शुरु भएको शुक्रबार आयोजित एक पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
इलाममा सुरक्षित गर्भपतन सेवा इलाम अस्पताल, मातृशिशु स्वास्थ्य क्लिनिक, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीसहित जम्मा २० वटा स्वास्थ्य संस्थामा ३२ जना सेवाप्रदायक स्वास्थ्यकर्मीबाट उपलब्ध गराइँदै आएको छ । माईमझुवास्थित स्वास्थ्य चौकीमा पनि यो सेवा लागू गरिएको भएपनि त्यहाँबाट अहिले यो सेवा उपलब्ध नगराइएको पत्रकार सम्मेलनमा बताइयो ।
इलाम नपामा जिल्ला अस्पताल अस्पताल, मातृशिशु स्वास्थ्य क्लिनिक र साँखेजुङ स्वास्थ्य चौकी, सूर्योदय नपामा पशुपतिनगर तथा फिक्कल प्रास्वाके र श्रीअन्तु स्वाचौ, माई नपामा चिसापानी र दानाबारी स्वाचौ, देऊमाई नपामा मंगलबारे प्रास्वाके, जीतपुर र सिद्धिथुम्का स्वाचौमा यो सेवा उपलब्ध छ । त्यस्तै फाकफोकथुममा फाकफोक र आमचोक स्वाचौ, माङ्सेबुङ गापामा बाँझो र इभाङ स्वाचौ, चुलाचुली गापामा चुलाचुली स्वाचौ, रोङ गापामा कोल्बुङ स्वाचौ, माईजोगमाई गापामा नयाँबजार स्वाचौ र प्याङ प्रास्वाके तथा सन्दकपुर गापामा लुरिङटार स्वाचौबाट यो सेवा उपलब्ध छ ।
पत्रकार सम्मेलनमा बताइएअनुसार चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा मात्रै जिल्लाभरमा ६९६ जनाले यो सेवा लिएका छन् । त्यो मध्ये इलाम अस्पतालबाट मात्रै ८८ जनाले सुरक्षित गर्भपतन सेवा लिएका हुन् । सुरक्षित गर्भपतन सेवा लिनेमा १९ वर्ष र सो भन्दा मुनीका पनि रहेका छन् ।

यो सेवा लिनेमध्ये १९ वर्षमुनी उमेरका सात प्रतिशत रहेका छन् । त्यस्तै २० देखि २४ वर्ष उमेरका २६ प्रतिशत र २५ वर्षमाथिका ६७ प्रतिशतले सुरक्षित गर्भपतन गराएको तथ्याङ्क छ ।
महिलाको प्रजनन् स्वास्थ्य सम्बन्धि अधिकारको परिपूर्ति गर्न, असुरक्षित गर्भपतनको कारणले हुने मातृ मृत्यु र रुग्णता कम गर्न, महिलाहरुको सशक्तिकरणका लागि टेवा पु¥याउन एवम् अनियोजित तथा अनिच्छित गर्भको निरन्तरताबाट पर्ने प्रभावलाई कम गर्न शुरु गरिएको सुरक्षित गर्भपतन सेवा हेल्थ एक्सिस राइट नेपाल (आईपास)सँगको सहकार्यमा नेपाल सरकारले उपलब्ध गराइरहेको छ । गर्भवती महिलाको मञ्जुरीमा सूचिकृत स्वास्थ्यकर्मीद्धारा सूचिकृत स्वास्थ्य संस्थामा प्रचलित कानुनले तोकेको परिधिभित्र रहेर तोकेको मापदण्ड र निर्देशिका अनुसार प्रदान गरिने गर्भपतन सेवालाई सुरक्षित गर्भपतन सेवा भनिएको छ ।


आईपास र जनस्वास्थ्य कार्यालयको आयोजनामा जनस्वास्थ्यका निमित्त प्रमुख टंक चौधरीको अध्यक्षतामा भएको पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा आईपासका केदार भण्डारी र महिला कानुन विकास मञ्चका अधिवक्ता नविनकुमार श्रेष्ठले अलगअलग कार्यपत्र प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार