काठमाडौं : संघीय सामाजवादी फोरमको बरिष्ठ नेता अशोककुमार राईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पहिचानको मामलामा कस्तो भूमिका खेल्छ हेर्दै जाने बताएका छन् । प्रदेश नम्बर १ को नामकरण बारे छलफल भइरहेको बेला किरात राई यायोक्खासँगको भेटमा नेता राईले सो कुरा बताएका हुन् ।
किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राई सहितको टोली आज (विहिबार) राईको निजी निवास बुद्धनगर पुगेर १ नम्बर प्रदेशको नाम बारे छलफल गरेको थियो । भेटको क्रममा नेता राईले १ नम्बर प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दुई तिहाइ बहुमत भएकोले उस्ले जे राख्यो त्यही हुने बताए । यायोक्खाले प्रदेशको नाम किरात राख्न पहल गर्न आग्रह गरेको थियो ।
बरिष्ठ नेता राईले समाजवादी फोरम ११ प्रदेशको पक्षमा रहेको उल्लेख गर्दै १ नम्बर प्रदेश ‘किरात लिम्बुवान शेर्पावान’ भए तत्काललाई राम्रो हुने बताए । पहिचानको आधारमा नाम नराखिए पार्टी आन्दोलनमा जाने निश्चित रहेको बताए । नेकपाले प्रदेशको नाम राख्दा उत्पीडित समुदायको पहिचान अस्वीकार नगरे तुरुन्तै आन्दोलन घोषणा हुने बताए । उत्पीडित समुदायको मनमा शान्ति भए मात्र संमृद्धि हुने राईको तर्कथियो ।
समाजवादी फोरमको १ नम्बर प्रदेशमा जयराम यादव, रामचन्द्र लिम्बू र राधा थापा गरी तीन जना सांसद रहेका छन् । तीन सांसद मध्ये यादव किरात, लिम्बू, लिम्बुवान र थापा कोशीको पक्षमा उभिदै आएको बुझिएको छ । किरात राई यायोक्खाले नेता राईसँग भेटेर तीन जना सांसदलाई किरात प्रदेशको पक्षमा समन्वय गरिदिनु आग्रह गरेका थिए । राईले भने पार्टीले नामको सन्दर्भमा प्रदेश सांसदहरुलाई नै प्रस्ताव र समर्थन गर्ने स्वायत्तता रहेको बताए । छलफलमा यायोक्खाको तर्फबाट अध्यक्ष दिवस राई, उपाध्यक्ष राकेश राई, महासचिव जनक राई, सचिव अर्जुन जम्नेली राई, सहकोषाध्यक्ष परशुराम राई, पूर्व उपाध्यक्षद्वय चन्द्रविक्रम र दुर्गा राई लगायतको रहेको थियो ।