मौरीपालन तालिम सम्पन्‍न

इलाम : इलामको फाकफोकथुम गाउँपालिकामा मौरीपालन तथा मह प्रशोधन र मौरीघार निर्माण सम्वन्धी १८ दिने तालिम सम्पन्न भएको छ ।

घरेलु तथा साना उद्योग विकास समिति इलामको आयोजना तथा फाकफोकथुम गाउँपालिकाको सहयोगमा सम्पन्न तालिममा गाउँपालिकाका विभिन्न वडाका १२ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।

तालिमलाई मौरीपालन श्रोत केन्द्रका प्रशिक्षक लक्ष्मी दाहालले सहजीकरण गरेका थिए । तालिम समापन अवसरमा गाउँपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न र व्यवसायिक मौरीपालक हुन कृषकहरूलाई आग्रह गरे । मौरीपालनको प्रशस्त सम्भावना भएकाले मौरीपालन व्यवसायलाई दिगो र व्यवसायिक बनाउन आग्रह समेत गरे ।

कार्यक्रममा उपाध्यक्ष सरस्वती राई (सरु) ले गाउँपालिकामा एक घर, एक मौरीको घार अभियानको अवधारणा ल्याइने बताइन् ।

फाकफोकथुम गाउँपालिका–३ का वडाध्यक्ष राजन पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जनार्दन कट्टेल, राजन पौडेल, सहजकर्ता लक्ष्मी दाहाललगायतले मन्तव्य राखेका थिए । कार्यक्रमका सहभागीलाई प्रमाण पत्र तथा आधुनिक मौरीको घार र औजार उपकरण समेत वितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार