काठमाडौँ : उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरम र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबीचको एकताको मिति तय गर्ने जिम्मेवारी दुई शीर्ष नेताले पाएका छन् । एकताका लागि गठित राजनीतिक संवाद समितिले विचार, सिद्धान्त र नेतृत्वका विषयमा दुई शीर्ष नेतालाई सुझाव बुझाई सकेको छ । फोरमले सह अध्यक्ष राजेन्द्र श्रेष्ठ र नयाँ शक्तिले नवराज सुवेदीको नेतृत्वमा वार्ता समिति बनाएर छलफल गरेका थिए ।
दुई पार्टीले निर्माण गरेका समितिबीच पटक पटक छलफल भएर विचार, सिद्धान्त र नेतृत्वका विषयमा तयार पारिएको सुझाव शीर्ष नेतृत्वलाई बुझाई सकेको एक नेताले बताएका छन् । नयाँ शक्तिका नेता नवराज सुवेदीले पार्टी एकताका खाका बनाउने जिम्मेवारी आफूहरूले पुरा गरेको र शीर्ष नेतालाई सुझाव दिइएको बताए । उनले भने ‘फाइनल टस गर्न बाँकी छ । अब छिट्टै हाम्रा संयोजक बाबुराम भट्टराई र उपेन्द्र जी बसेर टुङ्गो लगाउनु होला ।’
दुई अध्यक्ष रहने सहमति !
एकीकृत पार्टीमा दुई अध्यक्ष बनाउने वा सर्वोच्च नेता बनाउने भन्ने विषयमा यादव र भट्टराईले निर्णय गर्ने भएका छन् । दुई पार्टीका दोस्रो तहका नेताबीचको छलफलमा भने दुई अध्यक्ष रहने सहमति भएको छ । श्रेष्ठ र सुबेदी नेतृत्वको संवाद समितिमा भएको उक्त सहमति केहीं दिन अघि अध्यक्ष यादव र संयोजक भट्टराईलाई बुझाईएको छ ।
स्रोतका अनुसार नयाँ शक्तिका संयोजक भट्टराई दुई अध्यक्षात्मक प्रणालीमा जाने र कार्यकारी अध्यक्ष उपेन्द्रलाई मान्न तयार भएका छन् । एकीकृत पार्टीको दुई अध्यक्षमा वरिष्ठतामा भट्टराई अगाडि रहने भए पनि उनको जिम्मेवारी कम हुनेछ । ‘अब भट्टराईले के जिम्मेवारी लिनु हुन्छ भन्ने विषयमात्र टुङ्गो लगाउन बाँकी छ’, स्रोतले भन्यो ।
नयाँ शक्तिका नेता सुवेदीले दुवैलाई सम्मान हुने गरी नेतृत्वका विषयमा सहमति हुने बताए । उनले भने ‘सन्तुलन कायम गर्ने गरी अर्थात् पावर सेयरिङ्ग हुने गरी नेतृत्वको टुङ्गो लगाउँछौँ । हामीले त्यही सुझाव दिएका छौँ । अब दुई शीर्ष नेताले फाइनल टच गर्नुहुन्छ ।’
स्रोतका अनुसार दुई अध्यक्ष रहने विषयमा यादव र भट्टराई पनि सहमत भएका छन् । अझै पनि सर्वोच्च नेता वा वरिष्ठ नेताको रूपमा रहन यादवले भट्टराईलाई आग्रह गरिरहेका छन् ।
वार्ता प्रक्रियामा रहेका संघीय समाजवादी फोरमका एक नेताले कार्यकारी अध्यक्ष यादव हुँदा भट्टराईलाई आलंकारिक अध्यक्ष मान्न आफ्नो पार्टीलाई अप्ठ्यारो नभएको बताए । ‘कार्यकारी अध्यक्ष उपेन्द्रजी हुँदा आलंकारिक अध्यक्ष बाबुरामलाई मान्न हामीलाई समस्या छैन । उहाँ पूर्वप्रधानमन्त्री समेत रहेकाले उपेन्द्रजी भन्दा माथि हुँदा समेत समस्या हुँदैन’, ती नेताले भने, ‘सङ्गठनात्मक अवस्थाले गर्दा पनि कार्यकारी भूमिकामा यादव रहनु हुन्छ । हामीबिच त्यही कुरा फाइनल भएको छ ।’
अबको केही दिनभित्र नै पार्टी एकता घोषणा गर्ने तयारी दुई पार्टीको छ ।
यादवलाई कार्यकारी अध्यक्ष मान्न भट्टराई तयार भएपछि फुक्यो एकताको गाँठो
दुई वर्षअघि नेतृत्वमा कुरा नमिलेपछि रोकिएको फोरम र नयाँ शक्तिबीचको एकता यादवलाई कार्यकारी अध्यक्ष मान्न भट्टराई तयार भए लगत्तै निष्कर्षमा पुगेको स्रोतको दाबी छ । चुनाव चिह्न, झन्डा र पार्टीको नामका विषयमा समेत दुई पार्टी सहमत भएका छन् । दुई पार्टीबीच नयाँ समाजवादी पार्टी वा नयाँ समाजवादी फोरम पार्टी नेपालमध्ये एक नाम राख्ने विषयमा छलफल भएको छ ।
नागरिकखबरबाट