अतिक्रमित सरकारी जग्गा फिर्ता लिने तयारी

काठमाडौं : प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले ललिता निवासको सरकारी जग्गा र अरु अतिक्रमित सरकारी जग्गा फिर्ता लिने तयारी भइरहेको बताएका छन् ।

मंगलबार नेकपाका राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले अतिक्रमण भएका सरकारी जग्गाको छानबिन भइरहेको र अतिक्रमण गर्ने दोषीलाई कानुनअनुसार कारबाही गरिछाड्ने दृढता व्यक्त गरे ।

‘पौडेलले सरकारी जग्गा हडपेको होइन’

प्रधानमन्त्री ओलीले राजाको शासनकालमा अरु व्यक्तिबाट पार्टीका महासचिव विष्णु पौडेलले ललिता निवासछेउको ८ आना जग्गा किनेको भन्दै पौडेलले शक्तिको आडमा सरकारी जग्गा नहडपेको दाबी गरे ।

‘छानबिन हुन्छ’

उनले ‘वाइडबडी’ विमान खरिद प्रक्रियामा भएको भनिएको अनियमितताबारे पनि सरकारले छानबिन गर्ने जिकिर गरे ।

उनले कालोबजारी, तस्करी, भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्ने सरकारको अभियान प्रतिपक्षलाई तर्साउने नभइ मुलुकमा स्वच्छता र सुशासन कायम गर्ने अभियान भएको बताए ।

‘निष्पक्ष ढंगले छानबिन गर्न नदिएकाले दोषी पत्ता लागेन’

प्रधानमन्त्री ओलीले कन्चनपुरकी निर्मला पन्त हत्या प्रकरणलाई राजनीतिकरण गर्नुका साथै राजनीतिक र संघ–संस्थाको दबाबका कारण निष्पक्ष ढंगले छानबिन गर्न नदिएकैले दोषी पत्ता लाग्न नसकेको जिकिरसमेत गरे ।

उनले मुलुकको शान्ति–सुरक्षाको अहिलेको सुदृढ अवस्था यसअघि कहिल्यै हुन नसकेको दाबी गरे ।

‘बजेट वितरण असमानपूर्ण हुँदैन’

आगामी वर्ष उत्साहप्रद ढंगले आर्थिक वृद्धिदर हासिल गर्ने अवस्था रहेको भन्दै उनले आर्थिक वर्षको बजेट वितरण विगतमाजस्तो असमानपूर्ण नहुने स्पस्ट पारे ।

आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम पार्टीको नीति प्रतिविम्बित हुनेगरी आउने भन्दै उनले जनतामाझ पार्टीको छवि बढ्ने काममा क्रियाशील हुन सांसदहरुलाई निर्देशन दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार