ससफोले मात्रै सङ्घीय गणतन्त्रलाई अघि बढाउन सक्छ : अध्यक्ष यादव

  नयाँ बुलन्द
0 Shares

विराटनगर : नेपालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सङ्घीय समाजवादी फोरम, नेपाल बाहेक अरुले अघि बढाउन नसक्ने सङ्घीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् ।

आइतबार मोरङको बिराटनगरमा ससफो नेपालको प्रथम १ नम्बर प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष एवम् उपप्रधानमन्त्री र स्वास्थ्य तथा जनसंख्या मन्त्री यादवले पहिचान सहितको सङ्घीयतालाई संस्थागत गर्न संवैधानिक बाटोबाट प्रयास गरिएको जिकिर गरे ।

यादवले भने -‘संवैधानिक बाटोबाट संविधान संशोधन गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने प्रयासमा छौं ।’

उनले शान्ति र स्मृद्धितर्फ मुलुकलाई अघि बढाउने हो भने नेपालमा कायम जातीय, लैंगिक, क्षेत्रीय, भाषिक विभेद र उत्पीडन अन्त्य हुन जरुरी रहेको भन्दै सङ्घीयता, गणतन्त्रत, धर्मनिरपेक्षतालाई अन्त्य गर्न खोज्नेहरु समाप्त हुने दावी गरे ।

नेपालको भाग्य र भविष्य सङ्घीय प्रणालीमा मात्रै सम्भव रहेको भन्दै उपप्रधानमन्त्री यादवले नेपालको विविधतायुक्त विशेषतालाई बुझेर अघि बढ्नुपर्ने बताए ।

सही नेतृत्व र योजना नहुने हो भने मुलुक दिनानुदिन कमजोर र असफल बन्दै जाने चिन्ता व्यक्त गर्दै यादवले मुलुकका उद्धोग बेचेर खानेहरुबाट समृद्धि नआउने ठोकुवा गरे ।

बनेका योजना कार्यान्वयन तहमा सुझबुझपूर्ण नेतृत्व र सशक्त संगठन निर्माण गर्न सके मात्रै ससफोले मुलुकलाई नेतृत्व गर्न सक्ने भन्दै उहाँले पार्टी सशक्तिकरणलाई जोड दिए ।

कुशल नेतृत्व र बलियो पार्टी निर्माण हुन सके अरु परिवर्तन पक्षधर पार्टी, संगठनहरुलाई आकर्षित गर्न सकिने भन्दै यादवले समावेशी, सक्षम नेतृत्व चयन गर्न सक्नुपर्ने आवश्यकता औंल्याए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार