इलामका किसानले रासायनिक विषादी प्रयोगलाई क्रमशः घटाउँदै

इलाम : रासायनिक विषादीले दीर्घरोग बढाउने बुझेपछि इलामका किसानले रासायनिक विषादी प्रयोगलाई क्रमशः घटाउँदै लैजान थालेका छन् ।
रासायनिक विषादी प्रयोगकै कारण आफूले उत्पादन गरेको कृषि उपज बिक्न छोडेपछि र विषादीकै कारण सिङ्गो कृषि क्षेत्र बदनाम बन्दै गएपछि किसानले रासायनिक विषादी प्रयोग घटाउन थालेका हुन् ।

जिल्ला समन्वय समिति इलामले जिल्लाका सबैभन्दा बढी रासायनिक विषादी प्रयोग हुने क्षेत्रको सूची तयार गरी जैविक विषादी प्रयोग गर्न किसानलाई सुझाव दिएको छ ।

यस्तै, होटल एसोसिएसन इलामले समेत उक्त नीतिलाई सहयोग पु¥याउँदै जिल्लाका होटल व्यवसायीले किसानको अर्र्गानिक उत्पादन मात्र किन्ने निर्णय गरेपछि किसानले रासायनिक विषादी प्रयोगलाई घटाउन थालेका हुन् ।

यस्तै, जिल्ला जनस्वास्थ्य कार्यालय इलामले जिल्लाका विभिन्न स्थानमा गरेको अध्ययनले पनि रासायनिक विषादी बढी प्रयोग हुने क्षेत्र र गाउँमा जटिल र दीर्घरोगका समस्या बढी देखिएको प्रतिवेदन सार्वजनिक गरेपछि कृषि उत्पादनमा बढी मात्रामा रासायनिक विषादी प्रयोग गरिरहेका किसान हच्किएका हुन् । कार्यालयको प्रतिवेदनले विषादी बढी प्रयोग भइरहेका ठाउँमा नै क्यान्सर, मिर्गौला, मुटुलगायतका रोगीको सङ्ख्या बढी देखिएकाले कृषि क्षेत्रमा विषादी नियन्त्रण गर्नुपर्ने सुझाव दिएको थियो ।

इलाममा रासायनिक विषादी नियन्त्रणलाई अझ प्रभावकारी बनाउन रणनीति समेत बनाउन थालिएको छ । यहाँ रहेका चिया कारखानाले चलाएको अर्र्गानिक उत्पादन अभियान प्रभावकारी भएपछि रासायनिक विषादीको प्रयोग घटेको हो ।

मानव स्वास्थ्य र माटोका लागि समेत हानिकारक मानिएको रासायनिक विषादी प्रयोग घट्दै गएपछि त्यसको सट्टामा जैविक विषादीको प्रयोग हुन थालेको छ । गोदक र फिक्कलको पान्दाममा गरिएको एक परीक्षणमा मानिसको रगतमा नै रासायनिक विषादीको असर देखिएको थियो ।

इलामलाई १५ वर्षमा विषादीमुक्त बनाउने लक्ष्य राखिएको छ । नेपालमा करिब एक हजार ४०० प्रकारका विषादी सूचीकृत छन् । त्यसमध्ये क्लोरडेन, डिडिटी, डाइअल्ड्रिन, इन्ड्रिन, अल्ड्रिन, हेप्टाक्लोर, मिरेक्स, टोकसाफेन, बिएचसी, लिन्डेन, फस्फामिडन, अर्गेनोमर्करी, मिथायल पाराथायन, मेनोक्रोटोफस र इन्डोसल्फान र फोरेटलाई भने सरकारले प्रयोग गर्न निषेध गरिसकेको छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार