काठमाडौं : धरहरा । नेपाली कलाको शान । कलाकारिताको अस्तित्व । भीमसेनस्तम्भको नामले पनि परिचित । काठमाडौंको सुन्धारामा अवस्थित ।
वि.सं. १८८२ सालमा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले निर्माण गर्न लगाएको । महारानी त्रिपुरासुन्दरीदेवीको सम्झना निर्मित । तत्कालीन समयमा सामाजिक तथा प्रशासनिक सूचना र जानकारी दिन तथा भेला गराउन धरहराको टुप्पोबाट बिगुल बजाउने परम्परा ।
२०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले भाँचेर ठूटो बनाउनुपूर्व ९ तल्ला । वि.सं. १९९० भन्दापहिला भने ११ तल्ला रहेको । ९० साल माघ २ मा आएको महाभूकम्पपछि ९ तलामा सीमित । राणा प्रधानमन्त्री जुद्धशमशेरबाट वि.सं.१९९२ सालमा जीर्णोद्धार ।
तर, २०७२ वैशाख १२ को ‘गोरखा भूकम्प’ले धरहरालाई फेदैबाट ठनक्कै पारी भाँचिदियो । चार वर्षको यस अवधि बूढो धरहराले आफ्नो पुनःनिर्माण हुने प्रतीक्षामै कटायो । चार वर्षका हिउँद, बर्खा, घाम–पानी, कठांग्रिने ठिही सबै प्लास्टिकको ओतमा बूढाले कटाए !
तर, गएको वर्ष २०७५ साल पुस १२ गते विकास र समृद्धिको ‘वायुगति’मा लम्केका प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पुनःनिर्माणको शिलान्यास गरे ।
अब ‘भीमसेनस्तम्भ’ अर्थात् नयाँ धरहरा गजुरसहितको २२ तलाको हुने बताइएको छ । ७९ मिटर अग्लो हुने नयाँ धरहरा पुरानोभन्दा सहिदगेटतिर १० मिटरअगाडि बन्नेछ । पुरानो ठूटोलाई पनि स्मारककारुपमा सिसाको ‘फ्रेम’मा संरक्षण गरिनेछ ।
४२ रोपनीमा फैलने धरहरानजिकै संग्रहालयसँगै मनोरम बगैंचा बनाउन ३ अर्ब ४८ करोड रुपैयाँ छुट्टयाइएको छ । र, दुई वर्षभित्र बनाइसक्ने बाचा गरिएको छ ।
हुन त केपी शर्मा ओलीले पहिलोपटक प्रधानमन्त्री हुँदा २०७२ सालमै ‘मेरो धरहरा म बनाउँछु’ अभियान थालेका थिए । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र पुरातत्व विभागसँगको समन्वयमा धरहरा निर्माणको जिम्मा नेपाल टेलिकमलाई दिइएको थियो ।
तर, व्यावसायिकरुपमा प्रयोग गर्न पाउनुपर्ने आफ्नो प्रस्ताव स्वीकार नभएपछि पैसा कमाउनमै उद्यत् टेलिकमले धरहरा निर्माणको प्रतिबद्धताबाट हात झिक्यो । अब निर्माणको जिम्मा प्राधिकरणलाई नै दिइएको छ ।
प्रधानमन्त्रीले दुई वर्षमा निर्माण सकाउने त भनेका छन् तर शिलान्यास गर्नै तीन वर्ष लगाउने सरकारी कार्यशैलीले दुई वर्षमा सम्पूर्ण संरचना तयार हुनेमा आशंका गर्ने प्रशस्त ठाउँ छन् ।
त्यसैले त १९४ वर्षीय बूढा धरहरा भाँच्चिएको आफ्नो कम्मर प्लास्टिकको ओत लगाउँदै प्रधानमन्त्री ओलीको प्रतिबद्धता कुर्दैछन् ।
यस्तो छ धरहराको इतिहास
नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाले वि.सं. १८८१ मा आफ्नो दरबार लगनटोलमा पहिलोपटक धरहरा बनाउन लगाएका थिए ।
यो धरहरा बनाएको अर्को वर्ष अर्थात् वि.सं. १८८२ मा महारानी त्रिपुरासुन्दरीले अहिले धरहरा रहेको स्थानमा अर्को धरहरा बनाउन लगाइन् ।
तर, वि.सं. १८९० को भूकम्पले भीमसेन थापाले बनाएको धरहरा चर्काएको र रानीले बनाउन लगाएको धरहरा भने केही नभएको इतिहास छ ।
वि.सं. १९१२/१३ तिर भने धरहरामा बज्र परेर चर्किएपछि दुवै धरहराको जीर्णाद्वार गरिएको बताइन्छ ।
तर, वि.सं. १९९० सालको भूकम्पमा भने भीमसेन थापाले बनाउन लगाएको धरहरा पूर्णरुपमा भत्किएको र सुन्धारास्थित धरहराको दुईदेखि चार तलामात्र बाँकी रहेको मानिन्छ ।
पछि वि.सं. १९९२ मा तत्कालीन प्रधानमन्त्री जुद्धशमसेरले ११ तले पुरानो धरहरालाई ९ तला बनाएर पुनःनिर्माण गराएका थिए ।