माङसेबुङ अन्धकारमुक्त हुँदै, साढे २ करोडको विद्युत विस्तार

इलाम : विगत लामो समयदेखि अन्धकारमा जीवन गुजार्दै आएका पश्चिमी इलामको माङसबेुङ गाउँपालिकाका बासिन्दा अन्धकारबाट मुक्त हुने भएका छन् । चालू आर्थिक वर्ष ०७५÷७६ मा त्यहाँका सबै टोलमा विद्युत विस्तार भईसक्ने गरी काम सुरु भएको छ ।

माङसेबुङ गाउँपालिकालाई उज्यालो गाउँपालिका बनाउने अभियान अन्तरगत सबै वडामा करोडौंको योजना संचालन भईरहेको गाउँपालिका अध्यक्ष डिकेन्द्र इधिङगोले जानकारी दिए । माङसेबुङ गाउँपालिका, प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम र नेपाल विद्युत प्राधिकरण समेतको लगानीमा त्यस क्षेत्रमा २ करोड ५१ लाख रुपैयाँको लगानीमा विद्युत विस्तारको काम सुरु भएको छ ।

६ वटा वडामध्ये यसअघि केन्द्रीय प्रशारण लाईनको विस्तार नभएको ५ वटा वडामा विद्युत विस्तारको काम सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणबाट ५५ लाख, प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तरगत २५ लाख, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत ५० लाख र गाउँपालिकाको १ करोड २१ लाख रुपैयाँको लगानीमा गाउँपालिकाका सबै वडामा विद्युत विस्तारको काम सुरु भएको गाउँपालिका अध्यक्ष इधिङगोले नयाँ बुलन्दलाई जानकारी दिए ।

जस अन्तरगत वडा नम्बर १ मा ३२ लाख, २ मा ८६ लाख, ३ मा ६१ लाख, ४ मा ४१ लाख र ६ मा ३१ लाख रुपैयाँको योजना संचालनमा छन् । वडा नम्बर १ मा सदामखोप–ढुङ्गेडाँडा–खोपीगाउँ–देउराली–लामीडाँडा विद्युत विस्तारका लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट १५ लाख, सोही योजनाका लागि नेपाल विद्युत प्राधिकरणबाट ११ लाख र पाटीगाउँ विद्युत विस्तारका लागि गाउँपालिकाबाट ६ लाख रुपैयाँ विनियोजन भएको छ ।

वडा नम्बर २ मा गजुरमुखीधाम–इभाङ–पावा–भोटेडाँडा–माङमालुङ चिसोपानी पञ्चमी विद्युत विस्तारको पहिलो खण्डमा गाउँपालिकाबाट ३५ लाख, दोश्रो खण्डमा गाउँपालिकाबाटै ४० लाख र सोही योजनाका लागि नेपाल विद्युत प्राधिकरणबाट ११ लाख विनियोजन भएको छ । जसमध्ये पहिलो खण्डको काम सम्पन्न भईसकेको छ ।

वडा नम्बर ३ मा ६ वटा योजना संचालनमा छन् । चतुरे–चिवुवा–मान्द्रे विद्युत विस्तारका लागि प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट १८ लाख, नेपाल विद्युत प्राधिकरणबाट ११ लाख, लामिटार–दुम्से–रतुवाबेंसी विद्युत विस्तारका लागि गाउँपालिकाबाट १५ लाख, लामिटार खण्डका लागि प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट ७ लाख, मानपुर–कामीटार विद्युत विस्तारका लागि गाउँपालिकाबाट ५ लाख, लाक्तापा–ढुङ्गेसाँघू विद्युत विस्तारका लागि गाउँपालिकाबाट ५ लाख रुपैयाँ विनियोजन भई काम भईरहेको छ ।

त्यस्तै वडा नम्बर ४ को मार्चेबुङ–सिङफेरे विद्युत विस्तारका लागि गाउँपालिकाबाट १५ लाख, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट १५ लाख र नेपाल विद्युत प्राधिकरणबाट ११ लाख रुपैयाँ विनियोजन भई विद्युत विस्तारको काम भइरहेको छ । झापासँग नजिक रहेको यस वडामा भने झापाकै शाखाबाट केन्द्रीय प्रशारण लाईन विस्तार भईरहेको छ ।

वडा नम्बर ६ मा २ वटा योजना संचालित छन् । चिसोपानी पञ्चमी–रमिते–बाँझोगाउँ–टोड्के कुसुण्डे विद्युत विस्तारका लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट २० लाख र चिसोपानी पञ्चमी–झेपाले विद्युत विस्तारका लागि नेपाल विद्युत प्राधिकरणबाट ११ लाख रुपैयाँ विनियोजन भई योजना संचालनमा छन् । किरात धर्मगुरुको बसोबास रहेको वडा नम्बर ५ मा भने यसअघि नै विद्युत विस्तार भएको थियो ।

चालू आवमा सबै वडा कार्यालयमा र वडाका मुख्यमुख्य क्षेत्रमा विद्युत विस्तार गर्ने र आगामी वर्षबाट टोलटोलमा र घरघरमा विद्युत विस्तार गर्ने अध्यक्ष इधिङ्गोले बताए । ‘यसवर्ष हामी गाउँपालिकाका प्राय सबै मुख्य क्षेत्रमा विद्युत विस्तार गरिसक्छौं । आगामी वर्ष प्रत्येक टोल र घरघरमा विजुली पुर्याउँनेछौ’ अध्यक्ष इधिङगोले नयाँ बुलन्दसँग भने, ‘त्यसका लागि आगामी वर्ष समेत विद्युतलाई विशेष प्राथमितामा राखेर बजेट बनाउँनेछौं ।’ जनताले स्थानीय सरकारको अनुभूति हुने गरी काम गर्ने उद्देश्यले आफूले विद्युतमा विशेष प्राथमिकता दिएको अध्यक्ष इधिङ्गोको भनाई छ ।

१ सय ४२ दशमलव ४१ वर्ग किलोमटिर क्षेत्रमा फैलिएको माङसेबुङ गाउँपालिकामा १८ हजार ५ सय ३ जनसंख्या छन् । यसअघि वडा नम्बर १ को गजुरमुखी धाम क्षेत्र र ५ मा मात्र केन्द्रीय प्रशारण लाइन विस्तार भएको थियो । अन्य वडाका केही क्षेत्रमा लघुजलविद्युत आयोजना संचालन गरी विजुली उपभोग गरिरहेका थिए भने अधिकांश क्षेत्रका बासिन्दा टुकी र दियालोको भरमा रात कटाउन बाध्य छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार