काठमाडौं : बुधबार दिउँसो पुनः भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बुधबार दिउँसो ३ बजेर ५ मिनेटमा धादिङको नौबीसे केन्द्रविन्दु भएर ३.९ म्याग्निच्यूडको कम्पन मापन भएको जनाएको छ ।
यो नयाँ भूकम्प नभइ विनाशकारी ‘गोरखा भूकम्प’कै पराकम्पन भएको केन्द्रले जनाएको छ ।
योसहित बुधबार एकै दिन भूकम्पका तीनओटा धक्का महसुस गरिएको छ ।
यसअघि, बुधबारै बिहान ६ बजेर २९ मिनेटमा नौबीसे आसपास नै केन्द्रविन्दु भएको ५.२ म्याग्निच्यूडको पराकम्पन मापन गरिएको थियो ।
यस्तै, बुधबारै बिहान ६ बजेर ४० मिनेटमा पुनः नौबीसे आसपास नै केन्द्रविन्दु भएको ४.३ म्यानिच्यूडको कम्पन मापन गरिएको थियो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले सामान्यतया ४ म्याग्निच्यूडदेखिमाथिका भूकम्पका धक्काको विवरण आफ्नो वेबसाइटमा प्रकाशित गर्ने गरेको छ ।
विनाशकारी गोरखा भूकम्पपछि हालसम्म ४ म्याग्निच्यूडदेखिमाथिका ५२० ओटा पराकम्पन मापन भइसकेको केन्द्रका भूगर्भविद् चिन्तन तिम्सिनाले इमेजखबरलाई जानकारी दिए ।
चार वर्षअघि २०७२ वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको विनाशकारी भूकम्पले ठूलो जनधनको क्षति गरेको थियो । सो भूकम्पमा परी करिब ९ हजारजनाले ज्यान गुमाएका थिए ।