ढापपोखरी महोत्सवमा कलाकारसँग आगन्तुक झुम्मिए

  राम योङहाङ  156 पटक हेरिएको

इलाम : स्थानीय प्रयासमा पर्यटकीय गन्तव्यको रुपमा स्थापित इलामको सन्दकपुर गाउँपालिका ५ जमुनाको ढापपोखरीमा आयोजित पाँचौं ढापपोखरी महोत्सवमा आगन्तुकहरु झुम्मिएका छन् । महोत्सवको अवसरमा आयोजित साँगीतिक कार्यक्रममा जिल्ला भित्र र बाहिरबाट आएका आगन्तुकहरु कलाकारसँगै झुम्मिएका हुन् ।

महोत्सवको हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साथमा संचालित साँगितीक कार्यक्रममा स्थानीय मात्र नभई विदेशी पर्यटकले समेत मनोरञ्जन लिए । पहिलो दिनको कार्यक्रमममा गायक कुवेर राई, भुपेन राई, कृतिका राई, रघु गुरुङ, लेखु मुखियालगायत कलाकारको प्रस्तुतीमा स्थानीयले मनोरञ्जन लिएका थिए ।

महोत्सवको दोश्रो दिन गायक कोमल निरौला, देवी गौतम, राजेश चाम्लिङ, दिपेन गुरुङ, विजय फागो, बसन्ती लिम्बू सहित इलामको युनिभर्सल कला केन्द्रका कलाकारहरुले साँगीतिक प्रस्तुती दिएका थिए । तेश्रो दिन गायक रोशन गुरुङ, डम्बर नेपाली, इन्द्र गुरुङसहित इलामको चर्चित डान्स सेन्टर युनिक डान्स सेन्टरका कलाकारहरुले दर्शकलाई मनोरञ्जन दिन भ्याए । चौथो दिन पनि रोशन गुरुङ, इन्द्र गुरुङसहित स्थानीय कर्मठ ब्याण्डका कलाकारहरुसँग पर्यटकहरु खुब रमाएका थिए ।

समापनको अवसरमा महोत्सवका सहयोगीहरुलाई सम्मान समेत गरिएको थियो । स्थानीय पर्यटन प्रर्वधन गर्ने उदेश्यले आयोजित महोत्सवमा ५० हजार बढी पर्यटकले अवलोकन गरेको महोत्सव मूल आयोजक समितिका सचिव विप्लव भट्टराईले जानकारी दिए ।

महोत्सवको आकर्षणको रुपमा बोटिङ, फिसिङ र घोडसवारलाई राखिएकोे थियो । अधिकाशं पर्यटकको रोजाईमा बाटिङ र घोडसवार परेको थियो । त्यस्तै महोत्सवमा विभिन्न जातजातिको परम्परागत संस्कृतिको प्रर्दशनी, जातिय खाना र भेषभूषाको प्रर्दशनी, ऐतिहासिक र पुरातात्विक सामाग्रीको प्रर्दशनी समेत गरिएको थियो ।

ढापपोखरी जिल्लाकै सबैभन्दा ठूलो मानव निर्मित पोखरी हो । ५० रोपनी क्षेत्रफलमा फैलिएको पोखरीको लम्बाई २ सय १५ मिटर र चौडाई १ सय मिटर छ । सामान्य सीमसार रहेका क्षेत्रमा स्थानीयले निरन्तरको प्रयासपछि पोखरी निर्माण भएको हो ।

२०७२ वैशाख १ देखि स्थानीयले जनश्रमदान गरेर निर्माण थालेको ढापपोखरीले एक वर्षपछि पोखरीको आकार लिएको थियो । पहिलो दिन नै करिब एक हजार पाँच सय जनाले पोखरी निर्माणका लागि श्रमदान गरेका थिए ।

चन्द्रपाल थेवे ढाप सिमसार संरक्षण समितिको पहलमा पोखरीको संरक्षण र विस्तार थालिएसँगै वर्षेनी महोत्सवको आयोजना हुन थालेको हो । २०७२ वैशाख यता ४ वटा महोत्सव सम्पन्न भइसकेका छन् । ढापपोखरी इलाम सदरमुकामबाट करिब २२ किलोमिटर उत्तरमा पर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार