फस्ट फलस् खेर जाँदा पनि मजदुरका माग सुनिएनन्

  नयाँ बुलन्द
0 Shares

इलाम : चियाका लागि सबैभन्दा राम्रो पत्ती उत्पादन हुने समय अर्थात् हिउँद सकिएपछि सिजनकै पहिलोपटक उत्पादन हुने चियापत्ती (फस्ट फलस्) टिपेर प्रशोधन गर्ने बेलामा सरकारले तोकेअनुसारको ज्याला पाउनुपर्ने मागसहित चिया मजदुरले आन्दोलन गरेर चारसातादेखि सरकारी चिया बगानमा काम ठप्प पारेका भए पनि चिया बगान लिजमा लिएर व्यवस्थापन गरिरहेको त्रिवेणी संघाई ग्रुपले अहिलेसम्म कुनै चासो देखाएको छैन । दैनिक ज्यालादारीका रूपमा काम गरिरहेका मजदुरले काम नगरेको एक महिना हुनै लाग्दासम्म संघाईले समस्या समाधानमा चासो नदेखाउँदा मजदुर आक्रोशित बन्न थालेका छन् ।

बगानमा काम रोकिएपछि दैनिक ज्यालादारी मजदुरले छाक टार्नसमेत समस्या पर्न थालेको बताएका छन् । इलाम सदरमुकामको चिया बगानमा कार्यरत मजदुर ठाकुर कटुवालका अनुसार सरकारले राजपत्रमा उल्लेख गरेको र श्रम ऐनमा व्यवस्था गरिएको ज्याला मजदुरले पाउनुपर्ने भन्दै अहिले बगानको काम रोकिँदा मजदुरले चामल किन्न समस्या भएको बताए । उनले भने, ‘तेल चामल सकियो, गोजीमा पैसा छैन, अब के गर्ने ?’

इलाम चिया बगानकै अर्की मजदुर डम्बरकुमारी खड्काले पनि समस्या हुन थालेको बताइन् । उनले भनिन्, ‘केटाकेटी पढाउन गाह्रो भएको छ । सागसब्जी किन्नै प¥यो । काम गरेको पैसो (ज्याला)ले पुग्दैन । हामी दुःखीलाई सधैं दुःखैदुःख मात्रै भइरहने रहेछ ।’ सरकारले दिनु भनेर तोकिदिएको रकम माग्दा पनि नपाउँदा आपूmहरू पीडित भएको उनको गुनासो छ ।

साढे दुई दशक अघिदेखि काम गर्दै आएका मजदुरले अहिलेसम्म तोकिएको ज्याला कहिल्यै नपाएको बताएका छन् । २५ वर्षदेखि इलाम चिया बगानमै मजदुरका रूपमा कार्यरत सरस्वती चम्लागार्इं भन्छिन्, ‘कहिल्यै पूरा ज्याला पाइँदैन, हाम्रो समस्या कसले बुझिदिने ?’

श्रमिकले श्रम ऐन, २०७४ कार्यान्वयन हुनुपर्ने, योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयन हुनुपर्ने र साउनदेखि वृद्धि भएको ज्याला पाउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका छन् । चरणबद्ध आन्दोलनमा उत्रिएका चिया मजदुरहरूले चैत १७ गतेदेखि अनिश्चितकालीन हड्ताल सुरु गरेका हुन् ।

हडतालसँगै विरोधका विभिन्न कार्यक्रम गर्दै आएका छन् । झापा र इलामका चिया मजदुरको आन्दोलनका कारण सातवटा सरकारी बगान र कारखाना बन्द छन् । गुणस्तरीय चिया उत्पादन हुने यही सिजनमा लामो समयसम्म बन्द भएका कारण उद्योगलाई लाखौं नोक्सानी भइरहेको छ ।

सूर्योदय नगरपालिकाका निजी चिया उद्योगको संगठन सूर्योदय टि प्रोड्युसर्स एसोसिएसनले भने मजदुरको माग कार्यान्वयन गरेको छ । झापा मेची नगरपालिकाका राज टी स्टेट र ज्यामिरगढीले पनि श्रमिकको मागअनुसारको सेवा सुविधा दिएको छ । तर, निगमको चिया बगान ५० वर्षका लागि लिजमा लिएको संघाईले भने मजदुरको मागलाई बेवास्ता गर्दै आएको छ ।

आन्दोलनको चार हप्ता बित्दासम्म चिया श्रमिकको आवाज वेवास्ता रहेको नेपाल चिया बगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दीपक तामाङ बताउँछन् । साउन १ गतेदेखि लागू हुने गरी चिया बगानमा काम गर्ने श्रमिकको ज्याला दैनिक ३८५ रुपैयाँ र कारखानामा काम गर्ने मजदुरलाई थप ४२ रुपैयाँ तोकेको छ । तर, अहिले श्रमिकले दैनिक २७८ रुपैयाँ मात्र पाइरहेका छन् । श्रम ऐन, २०७४, श्रम नियमावली २०७५ र सामाजिक सुरक्षा ऐनमा श्रमिकको नियुक्तिपत्र, बिमा, बिदा सुविधा, औषधोपचारलगायतको व्यवस्था रहेको छ । वार्षिक तलब वृद्धि, चाड पर्व खर्च, उपचार खर्चलगायतका सेवासुविधा तोकेको छ ।

लामो समयदेखि चिया टिपाइ नहुँदा बगानमा चियाका मुना हुर्किएका छन् । अब ती मुनाबाट चिया उत्पादन हुन नसक्ने विज्ञ बताउँछन् । उनीहरू यस सिजनको चिया वर्षभरिकै सबैभन्दा स्वादिलो हुने भएकाले फस्ट फ्लसको चियापत्ती र तयारी चिया महँगोमा बिक्री हुने गरेको बताउँछन् ।

राजधानी दैनिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार