ताप्लेजुङ : ताप्लेजुङस्थित टीकाराम गौतम स्मृति प्रतिष्ठानले स्थानीय एकजना पत्रकारसहित एकजना समाजसेवी र एक रेडक्रस संस्थालाई सम्मान गरेको छ । प्रतिष्ठानद्वारा सोमबार आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रमकाबीच टीकाराम गौतम स्मृति पत्रकारिता पुरस्कारबाट स्थानीय पत्रकार सन्तोष पुर्कटी पुरस्कृत भएका छन् ।
यस्तै प्रतिष्ठानले समाजसेवीतर्फ फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिमका ८२ वर्षीय भीमप्रसाद बराललाई पुरस्कृत गरेको छ भने रेडक्रस संस्थातर्फ पाथीभरा याङ्वरक गाउँपालिकाको थेचम्बु उपशाखालाई पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा पत्रकार पुर्कुटी र समाजसेवी बरालले जनही पाँच हजार १०५ रुपियाँ नगद पुरस्कार तथा सम्मानपत्र प्राप्त गरेका छन् भने संस्थातर्फ रेडक्रस उपशाखा थेचम्बुले १० हजार रुपियाँ नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेको छ ।
कार्यक्रममा ताप्लेजुङ उद्योग बाणिज्य सङ्घका अध्यक्ष तारानाथ घिमिरेले सम्मानित तथा पुरस्कृत हुनेलाई नगद पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए । ताप्लेजुङ रेडक्रस सोसाइटीका तत्कालीन सभापति स्वर्गीय टीकाराम गौतमको स्मृतिमा उनका आफन्तजनले स्थापना गरेको यस प्रतिष्ठानले हरेक वर्ष एकजना पत्रकार, समाजसेवी र जिल्लामा रहेका रेडक्रसका उपशाखामध्ये उत्कृष्ट छनोट गरी पुरस्कृत तथा सम्मान गर्दै आएको छ । स्वर्गीय गौतमको जन्मभएको बैशाख ९ गतेका दिन पुरस्कारहरु वितरण गर्दै आएको प्रतिष्ठानका अध्यक्ष तोयानाथ गौतमले जानकारी दिए ।