अब पत्रकार बन्‍न परिक्षा दिनुपर्ने !

  नयाँ बुलन्द
0 Shares

इलाम : अब पत्रकार बन्न परिक्षा दिनुपर्ने भएको छ । सक्रिय पत्रकारहरुले मात्र नयाँ सदस्यता प्राप्त गर्नेगरी परिक्षा गर्नुपर्ने भएको हो ।

इलामो पर्यटकीय नगरी सूर्योदयन गरपालिकाको अन्तुमा सम्पन्न नेपाल पत्रकार महासंघ प्रदेश १ को साधारणसभाले त्यस्तो निर्णय गर्दै नयाँ सदस्यता प्राप्त गर्नेगरी मौखिक, लिखित, प्रयोगात्मक परिक्षा वा सार्वजनिक सुनुवाई गरेर मात्र सदस्यताको सिफारिस गर्न १४ वटै जिल्ला शाखाहरुलाई निर्देशन दिएको छ ।

साधारणसभाले जारी गरेको १३ बुँदै घोषणापत्रको नवौं बुँदामा सो कुरा उल्लेख छ । साधारणसभाले स्वतन्त्र प्रेसमाथिको हस्तक्षेप बन्द गर्नुपर्ने, साधारणसभाले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ र ४८ खारेज गर्नुपर्ने, तीनै तहका सरकारहरुले प्रेस स्वतन्त्रता विरोधी कानून निर्माण गर्न नहुने, मुलुकी देवानी तथा फौजदारी संहिताका प्रेस स्वतन्त्रता विरोधी प्रावधान सच्चाउनुपर्ने, पत्रकारिताको नियमन गर्न एउटै एकीकृत कानून निर्माण गर्नुपर्ने, मिडियाको अनुगमन, दर्ता, नविकरण, नियमन र सेवा सुविधा प्रदान गर्ने काम प्रदेश तहबाट हुनुपर्ने प्रस्ताव समेत गरेको छ ।

त्यस्तै श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न र साना लगानीका सञ्चारमाध्यमको संरक्षणको लागि समानुपातिक विज्ञापन नीति लागू गर्नसमेत माग गरेको छ । यसैगरी लामो समयदेखि रोकिएको लोककल्याणकारी विज्ञापन वापतको रकम तत्काल भुक्तान गर्न, सञ्चार माध्यमलाई सेवामूलक उद्योगको मान्यता दिलाउन पनि साधारणसभाले माग गरेको छ । साधारणसभाले प्रदेश र स्थानीय सरकारका विज्ञापनहरु सोही क्षेत्रका सञ्चारमाध्यमले प्राप्त गर्ने नीति निर्माणमा पनि प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।

साधारणसभाले पत्रकार महासंघको सदस्यता वितरण र नविकरणमा पनि कडाई गर्ने प्रस्ताव पारित गरेको छ । पत्रकारिताम सक्रिय नरहेका वा अन्य पेशा व्यवसाय गर्ने, निर्वाचित भएका जनप्रतिनिधि, वर्षभरी समाचारसँग कतैपनि नजोडिनेहरु, पत्रकार महासंघका कुनैपनि गतिविधिमा सहभागी नहुने र विदेशमा रहेकाहरुको सदस्यता खारेज गर्ने प्रस्ताव पारित गरेको छ । यस्तै सरकारी तथा निजामती सेवामा रहेकाहरुलाई पनि महासंघबाट विदा दिने निर्णय लिएको छ ।

साधारणसभाले संविधानले ज्ञारेन्टी गरेको पूर्ण प्रेसस्वतन्त्रताको प्रतिकुल समाचार लेखेकै आधारमा पत्रकारहरु पक्राउ पर्नु खेदजनक रहेको ठहर समेत गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार