स्वतन्त्र प्रेसमाथिको हस्तक्षेप बन्द गर्न माग

  नयाँ बुलन्द
0 Shares

इलाम : विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ खारेज गर्नुपर्ने र स्वतन्त्र प्रेसमाथिको हस्तक्षेप बन्द गर्नुपर्नेसहितका १३ बुँदे अन्तु घोषणापत्र पारित गर्दै नेपाल पत्रकार महासंघ १ नं. प्रदेशको साधारणसभा सम्पन्न भएको छ ।

इलामको सुर्योदय नगरपालिकास्थित श्रीअन्तुमा पूर्वप्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गर्नुभएको साधारणसभाको बन्दसत्रले संविधानले ज्ञारेन्टी गरेको पूर्ण प्रेसस्वतन्त्रताको प्रतिकुल समाचार लेखेकै आधारमा पत्रकारहरु पक्राउ पर्नु खेदजनक रहेको ठहर गरेको हो ।

साधारणसभाले तीनै तहका सरकारहरुले प्रेस स्वतन्त्रता विरोधी कानून निर्माण गर्न नहुने, मुलुकी देवानी तथा फौजदारी संहिताका प्रेस स्वतन्त्रता विरोधी प्रावधान सच्चाउनुपर्ने, पत्रकारिताको नियमन गर्न एउटै एकीकृत कानून निर्माण गर्नुपर्ने, मिडियाको अनुगमन, दर्ता, नविकरण, नियमन र सेवा सुविधा प्रदान गर्ने काम प्रदेश तहबाट हुनुपर्ने प्रस्तावसमेत गरेको छ । साधारणसभाले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न र साना लगानीका सञ्चार माध्यमको संरक्षणको लागि समानुपातिक विज्ञापन नीति लागू गर्नसमेत माग गरेको छ ।

यसैगरी लामो समयदेखि रोकिएको लोककल्याणकारी विज्ञापन वापतको रकम तत्काल भुक्तान गर्न, सञ्चार माध्यमलाई सेवामूलक उद्योगको मान्यता दिलाउन पनि साधारणसभाले माग गरेको छ । साधारणसभाले प्रदेश र स्थानीय सरकारका विज्ञापनहरु सोही क्षेत्रका सञ्चारमाध्यमले प्राप्त गर्ने नीति निर्माणमा पनि प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।

साधारणसभाले पत्रकार महासंघको सदस्यता वितरण र नविकरणमा पनि कडाई गर्ने प्रस्ताव पारित गरेको छ । पत्रकारिताम सक्रिय नरहेका वा अन्य पेशा व्यवसाय गर्ने, निर्वाचित भएका जनप्रतिनिधि, वर्षभरी समाचारसँग कतैपनि नजोडिनेहरु, पत्रकार महासंघका कुनैपनि गतिबिधिमा सहभागी नहुने र विदेशमा रहेकाहरुको सदस्यता खारेज गर्ने प्रस्ताव पारित गरेको छ । यस्तै सरकारी तथा निजामती सेवामा रहेकाहरुलाई पनि महासंघबाट विदा दिने निर्णय लिएको छ ।

नयाँ सदस्यता वितरणमा पनि सक्रिय पत्रकारहरुले मात्र सदस्यता प्राप्त गर्नेगरी मौखिक, लिखित, प्रयोगात्मक परिक्षा वा सार्वजनिक सुनुवाई गरेर मात्र नयाँ सदस्यताको सिफारिस गर्न शाखाहरुलाई निर्देशन दिएको छ ।

साधारणसभामा महासचिब विवेक गौतमले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष अम्बिका भण्डारीले पेश गरेको आर्थिक प्रतिवेदनसमेत पारित गरेको छ ।पत्रकार महासंघका प्रदेशहरुमध्ये प्रदेश नं. १ ले पहिलो पटक साधारणसभा सम्पन्न गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार