काठमाडौं : संघीय समाजवादी फोरम नेपालको प्रथम राष्ट्रिय एकता महाधिवेशन आगामी वैशाख २८, २९ र ३० गते प्रदेश नं २ को जनकपुरमा हुने भएको छ ।
महाधिवेशनका लागि ‘विभेदरहित लोकतन्त्र, पहिचानसहितको संघीय गणतन्त्र’ शीर्षकको नारा तय गरिएको छ ।
महाधिवेशन प्रचारका लागि पार्टीका उपमहासचिव प्रकाश अधिकारीको संयोजकत्वमा ११ सदस्यीय महाधिवेशन प्रचार–प्रसार उपसमिति गठन गरिएको छ ।
महाधिवेशन तयारीका लागि अन्य विभिन्न उपसमितिहरू समेत बनाइएकाे छ । उपसमितिका सदस्य पूर्ण बस्नेतले महाधिवेशनको प्रचारका लागि सामग्री तयार पार्ने र प्रचार गर्ने काम सुरु गरिएको बताए ।
पार्टीका प्रचार विभाग उपप्रमुख तथा केन्द्रीय सदस्य समेत रहेका उनले अब राष्ट्रिय जनता पार्टी र नयाँ शक्ति पार्टी लगायतसँगको एकता वार्ताले महाधिवशेन रोकिने अवस्था नभएको प्रष्ट पारे ।
‘पार्टी एकता हुँदा पनि महाधिवेशन रोकिदैन, महाधिवेशनको तयारी अघि बढिसक्यो,’ उनले भने ।
राजपा र नयाँ शक्तिसँग एकताको चर्चा चलिरहेको बेला ससफोको महाधिवेशनको समय फेरि सर्ने हो कि ? भन्ने आशंका उत्पन्न भएको थियो ।
तर अब तोकिएकै मितिमा महाधिवेशन हुने बस्नेतले बताए ।