बैंकहरुका आकर्षक बचत खाता

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : नेपाल सरकारले सुरु गरेको ‘खोलौं बैंक खाता’ अभियानलाई सहयोग गर्ने उद्देश्यले वाणिज्य बैंकहरुले विभिन्न आकर्षक बचत खाता योजना सार्वजनिक गर्न थालेका छन् ।

सोमबारमात्र दुई वाणिज्य बैंकले बचत खाता खोल्न प्रोत्साहन गर्न नयाँ बचत खाता सार्वजनिक गरे ।

एनएमबि बैंकले एनएमबि सबैको सहारा बचत खाता सन्चालनमा ल्याएको छ ।

बैंकले सोमबार एक कार्यक्रम गरी खोलौं बैंक खाता अभियानअन्तर्गत् आफ्नो एक घर एक खाता अभियानलाई अझ परिष्कृत गर्दै ‘सबैका लागि बचत, सधैंका लागि सहारा’ भन्ने नारासहित एनएमबि सबैको सहारा बचत खाता सन्चालनमा ल्याएको जनाएको हो ।

यसअघि, खाता नभएकाका लागि ल्याइएको यस खातामा बैंकले १०० रुपैयाँ जम्मा गर्ने र ग्राहकको अग्रिम बिमा सुरक्षण गरिने जनाइएको छ ।

साढे ६ प्रतिशत ब्याजदरको यस खातामा दुर्घटनादेखि १८ गम्भीर रोग लागेको खन्डमा १० लाख रुपैयाँसम्मको बिमा रकम उपलब्ध गराउने बैंकले जनाएको छ ।

यसैगरी, सरकारको खाता अभियानलाई सहयोग गर्ने उद्देश्यका साथ आफ्नो २५औं वार्षिकोत्सवका अवसरमा नेपाल बंगलादेश बैंकले रजत बचत खाता सन्चालनमा ल्याएको छ ।

बैंकले ‘समृद्धिसँगै जोडौं नाता, सबै नेपालीको बैंक खाता’को नारासहित यो खाता सन्चालनमा ल्याएको हो ।

२५ रुपैयाँमा जो–कोहीले खोल्नसक्ने यस खातामा बैंकले १०० जम्मा गर्ने र एक लाखसम्मको स्वास्थ बिमा सुविधा हुने बैंकले जनाएको छ ।

प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले खोलौं बैंक खाता अभियान सरकार र राष्ट्र बैंकको सकारात्मक प्रयास भएको र यसले लगानीयोग्य पुँजी परिचालनमा सघाउ पुर्‍याउने र यसमा बैंकका तर्फबाट पूर्णसाथ र सहयोग हुने प्रतिबद्धता जाहेर गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार