इलाम : २०७६ को ‘आशिष स्मृति पत्रकारिता पुरस्कार’ ताप्लेजुङका पत्रकार चन्द्र पन्धाक (प्रयास) ले पाउने भएका छन् । गोरखापत्र दैनिकमा जिल्ला संवाददाताका रुपमा कार्यरत पन्धाकले नगद १० हजार रुपैयाँ सहितको पुरस्कार पाउने भएका हुन् ।
प्रत्येक वर्ष १ वैसाखमा प्रदान गरिदंै आएको पुरस्कार यसवर्ष पन्धाकलाई प्रदान गर्ने निर्णय भएको नेपाल पत्रकार महासंघ इलामका सचिव ख्याम भुजेलले जानकरी दिए । पन्धाक नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का संघीय सचिव समेत हुन् ।
स्वर्गीय पत्रकार आशिष राईको स्मृतिमा स्थापित पुरस्कार साविक मेचीलाई कार्यक्षेत्र बनाएर पत्रकारीता गर्ने क्रियाशील पत्रकारलाई दिइने गरिएको छ । स्वर्गीय राईको १७ औं स्मृति दिवसको अवसरमा आइतबार एक कार्यक्रम गरी पन्धाकलाई पुरस्कृत गरिनेछ ।
रेडियो नेपालका तत्कालीन इलाम समाचारदाता आशिष राईको १ वैशाख २०५९ मा इलामको माइखोलामा पौडी खेल्ने क्रममा डुबेर निधन भएको थियो । सन्दकपुर गाउँपालिकाको सुलुबुङमा जन्मेका राईको मृत्युपछि इलामका सक्रिय पत्रकारहरुले ‘आषिश स्मृति पत्रकारिता पुरस्कार’ कोष स्थापना गरी एक क्रियाशील पत्रकारलाई पुरस्कृत गरिदै आएको छ । युवा पत्रकार स्वर्गीय आशिष राईको स्मृतिमा २०६० सालमा पुरस्कार कोष स्थापना गरिएको थियो ।
सो पुरस्कारबाट यसअघि इलामका पत्रकार बेनुप भट्टराई, राजु शिवा, तोयानाथ भट्टराई, राजकुमार दाहाल, युवराज गौतम, गोविन्द लामिछाने, कोकिला ढकाल, भीम चापागाईं, गणेश घिमिरे, नमिन ढकाल, पाँचथरका गणेश साम्पाङ, झापाका मोहन काजी, रमेश समदर्शी राई, ताप्लेजुङ्गका आनन्द गौतम र सीता निरौला पुरस्कृत भईसकेका छन् ।