काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको एकता प्रक्रिया विवाद गहिरिँदै गएको छ ।
तत्कालीन एमाले र माओवादी केन्द्रबीच तल्ला कमिटीमा कसले कति प्रतिशत नेतृत्व पाउने भन्ने विषय सहमति नजिक भए पनि हिजोको एमालेभित्रको ओली र नेपाल समूहको लडाईंले एकता प्रक्रिया जटिल बनेको हो ।
प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई मात्र साथ लिएर एकलौटी ढंगबाट तल्ला कमिटीको एकता टुंग्याउन खोजिएको भन्दै माधवकुमार नेपाल समूह आक्रमक बनेपछि नेकपाभित्रको विवाद गहिरिएको हो ।
ओली र दाहालले हिजोको एमाले पक्षलाई ४५ र माओवादी पक्षलाई ३२ जिल्लाको नेतृत्व दिने गरी सहमतिको मोडालिटी तयार पार्दै नेतृत्वको नाम छानेको सूचना पाएपछि नेपाल समूहले जिल्ला नेतृत्वको छुट्टै सूची तयार गरेर अध्यक्षद्वयलाई नै चुनौती दिएको हो ।
नेपाल समूहको समानान्तर कमिटीको चुनौतीपछि अघिल्लै हप्ता सूची सार्वजनिक गर्ने अध्यक्षको योजना अझै सफल हुन सकेको छैन । पूर्व माओवादी पक्षले पाउने ३२ जनाको नाममा खासै समस्या छैन ।
दाहालले जो चयन गर्दछन् त्यही जिल्ला नेतृत्वमा हुन्छन् । तर पूर्व एमाले पक्षमा भने ठूलै लडाईं छ ।
नेकपा स्रोतहरूका अनुसार पूर्व एमाले पक्षले पाउने ४५ जिल्लामध्ये ओलीले तयार गरेको सूचीमा अहिले नेपाल पक्षका दोलखा र सिन्धुपाल्चोक बाहेक सबै आफ्नो समूहका मात्र छन् ।
त्यसमा पनि साविकको नेतृत्व होइन, कनिष्टहरू नै ओलीको रोजाइमा परेका छन् । जसले नेपाल पक्षलाई थप बिच्क्याइदिएको छ ।
ओली र दाहालको यस्तो तयारीबारे सूचना पाएका नेपालले त्यस्तो अवस्था आए ७७ जिल्लामै समानान्तर कमिटी बनाउने गरी जिल्ला नेतृत्वको नामसहितको सूची अध्यक्षद्वयलाई पठाइदिएपछि विवाद फेरि एक पटक उत्कर्षमा पुगेको छ ।
पार्टी एकीकरण भएको एक वर्ष पुग्न लाग्दासमेत तल्ला तहका कमिटी बन्न नसक्दा कार्यकर्तामा चरम निराशा छ ।
विवाद मिलाउन भन्दै नेकपामा कार्यदल बनाइए पनि ओली र दाहालले आफू अनुकूल कार्यदलले काम गर्ने नदेखेपछि विघटन गरिदिएका थिए ।
एकीकरणपछि नेकपाभित्र संस्थागत निर्णय प्रक्रिया निस्कृय जस्तै बनेको छ ।
केन्द्रीय सदस्यको सपथका लागि बाहेक केन्द्रीय कमिटीको बैठक एक पटक पनि बस्न सकेको छैन ।
पार्टी एकतापछि पनि ओली र नेपाल समूहको गुट यथावत् रहँदा नेकपामा तत्कालीन माओवादी समूह निर्णयक बन्दै गएको छ ।
दाहाललाई साथमा लिएर ओलीले अहिलेसम्म आफ्ना निर्णय कार्यान्वयन गराउँदै आएका छन् ।
नेपाल समूहका नेताहरू ओलीले आफूलाई सर्वेसर्वा ठान्दा पार्टी विग्रहमा पुगेको टिप्पणी आन्तरिक फोरमहरूमा गर्ने गरेका छन् ।
‘योग्यता, क्षमता, पार्टी प्रणाली केही नहेरी भजन गाउनेहरूलाई नेतृत्वमा पुर्याउने ओली प्रवृत्तिले पार्टी संगठन संकटमा छ, ओलीको यो प्रवृत्ति नसच्चिँदा जे पनि हुन सक्छ,’ नेपाल समूहको आरोप छ ।
ओली समूहले पनि नेपाल पक्षलाई बार्गेनिङ गर्न मात्र खोजिरहेको आरोप लगाएको छ ।
‘पार्टी एकता नयाँ चरणको पार्टी निर्माण भएकाले पुराना नेता भनेर मात्र हुँदैन, सबैलाई मिलाएर लान सक्ने नेतृत्व आवश्यक छ, त्यसकै तयारीमा अध्यक्ष हुनुहुन्छ, नेपाल समूहको कुण्ठा मात्र हो,’ ओली पक्षको भनाइ छ ।
ओली र नेपालको जुहारी चल्दा दाहाल भने खासै खुलेका छैनन् । ‘ओलीजी र माधवजीको जुँगाको लडाईले कार्यकर्तालाई निराश बनाउन पाइँदैन, जसरी पनि अब एकता प्रक्रिया टुंगो लगाउनुपर्छ, विधि, मापदण्ड र पार्टी प्रणालीलाई ध्यान दिएर एकता छिटो टुंगो गरौं, नेतृत्वको कार्यशैलीमा संशोधन ल्याऔं,’ दाहाल पक्षको मत छ ।
गुट स्वार्थमा रमाइरहँदा तीनै पक्ष कुनै न कुनै बेला आफ्नो प्रभुत्व पार्टीमा जमाउन सकिने बुझाइमा छन् । यी समूहमध्ये दुई समूह एकातिर हुँदा उसैको पल्ला भारी हुन्छ ।
भावी नेतृत्वमा पुग्न सोही पृष्ठभूमि फलदायी हुने विश्लेषणका साथ कुनै समूह पनि गुट विसर्जन गर्न तयार छैन ।
जबसम्म यस्तो गुट विसर्जन हुँदैन, तबसम्म नेकपाको एकता सरल ढंगबाट नटुंगिन सक्छ ।