काठमाडौं : नेपाल मिडिया सोसाइटीले प्रेसलाई नियन्त्रण गर्ने खालका आदेश र निर्देशन तत्काल सच्याउन सरकारसित माग गरेको छ ।
सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले एक विज्ञप्ति जारी गर्दै प्रेस प्रतिनिधि प्रमाणपत्रका लागि पञ्चायतकाल बिर्साउने गरी आदेश जारी भएको भन्दै आपत्ति जनाएका छन् ।
सूचना तथा प्रसारण विभागले प्रेस पासका लागि व्यक्तिगत गोपनीयतासँग समेत जोडिने बैंक स्टेटमेन्ट बुझाउनुपर्ने निर्देशन जारी गरेपछि मिडिया सोसाइटीले आपत्ती प्रकट गरेको हो । सोसाइटिले सरकारको यस्तो निर्देशन प्रेसलाई नियन्त्रण गर्ने उद्देश्यबाट आएको ठहर समेत गरेको छ ।
विज्ञप्तिमा ‘नेपाली मिडियाको समेत अपनत्व रहेको संविधानको प्रेस स्वतन्त्रतासम्बन्धी प्रदत्त र अविच्छिन्न अधिकार उपभोगमा कुनै पनि प्रकारको बन्देज नलगाइयोस् भन्ने कुरा प्रधानमन्त्री र सिंगो मन्त्रिपरिषदमार्फत सच्याइयोस् भन्ने माग गरिएको छ ।
यस्तै ‘टेलिभिजनहरूले स्याटेलाइटलाईतिर्नुपर्ने शुल्कको अनुमतिका लागिदिनुपर्ने सिफारिस र प्रकाशन गृहहरूले आयात गर्ने कागज अनुमतिमा समेत प्रतिबन्ध लगाउने गरी महिनौंसम्म मन्त्रालयमा घुमाउने, मन्त्रीको चाकडीमा नेपालका सबै मिडिया दण्डवत् होऊन् भन्ने शाहीकालीन कलुषित मनसाय राखेको प्रस्टै भएको विज्ञप्तिमा उल्लेख छ ।