इलाम : महेन्द्र रत्न बहुमुखी क्याम्पसका विभिन्न ३ विद्यार्थी संगठनले क्याम्पस समक्ष संयुक्त रुपमा ४ बुँदे माग राखेका छन् ।
नेपाल विद्यार्थी संघ, समाजवादी विद्यार्थी फोरम र संघीय विद्यार्थी युनियनले संयुक्त रुपमा एक प्रेस विज्ञप्ती जारी गर्दै ४ बुँदे माग राखेको हो ।क्याम्पसलाई नमुनाको रुपमा अगाडि साथै चौथो वर्षे शिक्षाशास्त्र र वाणिज्यशास्त्र परिक्षालाई मध्यनजर गर्दै आफ्नो माग तत्काल पूरा गर्न क्याम्पसलाई ध्यानाकर्षण गराएको छ ।
संयुक्त विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयले आंगिक क्याम्पसमध्ये पहिलो क्वुएए सर्टिफाइ प्राप्त समयावधि सकिएकाले नविकरणका लागि तत्काल पहल गर्नुपर्ने, विद्यार्थीले पाउनुपर्ने १० प्रतिशत छात्रावृत्ति दोहोरो सुविधा नदोहोरिने सुनिश्चित गर्नुपर्ने, त्रिभुवन विश्वविद्यालयले तोकेको विहानी र दिवा सेवा विधान विपरित अन्य शैक्षिक संस्थामा पठनपाठन गर्न जाने प्राध्यापकलाई नियन्त्रण गरी क्याम्पसको पठनपाठन व्यवस्थित गर्नुपर्ने र क्याम्पसमा अनावश्यक ओटी प्रथालाई नियन्त्रण गर्नुपर्ने माग राखेको छ ।
नेविसंघका कार्यवाहक अध्यक्ष धनकुमार राई (वविन), समाजवादी विद्यार्थी फोरमका सचिव संजय लिम्बू र संघीइ विद्यार्थी युनियनका अध्यक्ष केवी नेम्बाङले हस्ताक्षर गरी आफ्ना मागलाई वेवास्ता गरे चरणवद्ध आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी समेत दिएको छ ।