राहत वितरण अव्यवस्थित, पीडित के भन्छन् ?

  नयाँ बुलन्द
0 Shares

बारा : बारा र पर्सामा आइतबार साँझ आएको भीषण हावाहुरीबाट प्रभावित बनेकाहरुले राहत वितरणमा एकद्वार प्रणाली नहुँदा समस्या भोग्नुपरेको छ ।

प्रभावित क्षेत्रमा राहत लिएर पुग्नेको संख्या धेरै भएपनि मनपरी ढंगले बाँड्दा राहत वितरण प्रभावकारी बन्न नसकेको हो ।

आँधीबेहरी प्रभावितले राहत वितरणलाई एकद्वार प्रणालीमार्फत् गर्नुपर्ने टड्कारो आवश्यकता देखिएको बताएका छन् ।

राहत लिएर पुगेकाहरुले पनि आफूखुसी राहत बाँड्दा वास्तविक पीडित राहत पाउनबाट बन्चित बनेको गुनासो बढ्दै गएको छ ।

विभिन्न संघ–संस्था र व्यक्तिले लिएर गएको राहत सामग्रीसमेत अत्यधिक भीड र उचित व्यवस्थापनको अभावमा बाँड्न समस्या भएको छ । राहत वितरणको नेतृत्व कसैले गरेको छैन ।

घरबारविहीन बनेकाभन्दा पनि सामान्य क्षति पुगेकाहरुले नै त्रिपाललगायतका राहत सामग्रीहरु धेरै लिने गरेको र वास्तविक पीडितको भने खानेकुरा पनि पेटभरि नपाएको पीडा छ ।

राहत सामग्रीमा पनि पालमा जोड दिनुपर्ने स्थानीयको सुझाव छ ।

बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेल राहत वितरण अव्यवस्थित भएको स्वीकार्दै जिल्ला विपद् व्यवस्थापन समितिमार्फत् राहत वितरण गर्नुपर्ने बताउँछन् ।

विपद्का बेला स्थानीय तहको भूमिका सबैभन्दा प्रभावकारी हुनुपर्ने हो । तर, स्थानीय जनप्रतिनिधिहरुको भूमिका प्रभावकारी बन्न सकेको छैन ।

वास्तविक पीडितको पहिचानमासमेत समस्या देखिएको छ ।

अहिले ध्वस्त संरचना हटाउने र पीडितलाई खुला आकाशबाट पालमुनि ल्याउने काममा सुरक्षा निकाय बढी सक्रिय छन् ।

रमितेहरुको भीडले भने काममै बाधा पुगेको देखिन्छ । प्रभावित क्षेत्रमा बिहानैदेखि राहत लिएर पुग्ने सवारी–साधनको लामो लाइन देखिन्छ । दलका नेताहरुको ओहोर–दोहोरका कारण बढ्ने भीड अर्को समस्या बनेको छ ।

केन्द्र र प्रदेश सरकारले पीडितलाई घर बनाइदिनेसम्मका घोषणा गरिसकेका छन् । तर, तत्कालै गर्नुपर्ने कामहरु पनि प्रभावकारी र व्यवस्थित हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार