
झापा : संघीय प्रेस फोरम नेपाल प्रदेश १ को अध्यक्षमा फिपराज वेघा चयन भएका छन् ।
शनिबार झापाको दमकमा सम्पन्न संघीय प्रेस फोरमको प्रथम ऐतिहासिक भेलाले वेघाको अध्यक्षतामा १९ सदस्यीय प्रदेश तदर्थ समिति गठन गरेको हो ।
प्रदेश समितिका उपाध्यक्षद्वयमा विना डी तामाङ र राम योङहाङ, मुख्यसचिवमा अजितकुमार धिमाल, सचिवद्वयमा ऋषि राई र सुसन राई तथा कोषाध्यक्षमा मनकुमारी राई चयन भएका छन् ।
सदस्यहरुमा विनुमाया राई, सूर्य गुरुङ, राम लावती, दिवा चेम्जोङ, सूर्यनारायण यादव, मुकेसकुमार यादव, निमा पोङसुवा, देशराज नेम्वाङ, ज्ञानु केदेम लिम्बु, अशोक गुरुङ, युद्धबहादुर वोहोरा र गुमानसिंह लिङदेन चयन भएका छन् ।
भेला संघीय प्रेस फोरम नेपालका उपमहासचिव तथा प्रदेश १ का इन्चार्ज कमन देवानको अध्यक्षता तथा संघीय समाजवादी फोरम नेपालका राजनीतिक समिति सदस्य प्रविण चाम्लिङको प्रमुख आतिथ्यतामा भएको थियो ।
यस्तै भेलाले ७ बुँदे दमक घोषणा पत्र समेत जारी गरेको छ । मुलुकको वर्तमान परिस्थिती, प्रेस स्वतन्त्रताको अवस्था, राज्यले अघि सारेको नीति लगायतलाई ध्यानमा राख्दै भेलाले ७ बुँदे घोषणापत्र जारी गरेको हो ।
यस्तो छ घोषणापत्र :
१. संघ, प्रदेश र स्थानीय सरकारद्वारा समावेशी संचार नीति तर्जुमा गरी लागू गरियोस् ।
२. तीनै तहको सरकारले समानुपातिक सूचना/विज्ञापन प्रणाली लागू गरियोस् ।
३. हरेक तहको सरकारले योजना निर्माण गर्दा प्रक्रियागत रुपमा सूचना प्रबद्र्धनका क्षेत्रलाई विशेष प्राथमिकता साथ समावेश गरियोस् ।
४. नेपाल पत्रकार महासंघको कार्यसमिति पूर्ण समानुपातिक, समावेशी बनाइयोस् ।
५. नेपाल पत्रकार महासंघको साधारण सदस्यता वितरणमा हुने विभेद अन्त्य गरियोस् ।
६. श्रमजीवि पत्रकार ऐन पूर्ण रुपमा कार्यान्वयन गरियोस् । साथै, श्रमजिवि पत्रकारको पेशागत हकहित, सुरक्षा र संरक्षणमा राज्य पूर्ण रुपमा जिम्मेवारी बनोस् ।
७. पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरियोस् ।















































