इलाम : इलाममा संचालित पाँचौ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकप फूटबल प्रतियोगिता मंगलबार सम्पन्न भएको छ ।
फाइनलमा नेपाली ‘ए’ डिभिजन क्लब मिहालयन शेर्पा क्लबलाई २–० गोलको सहज जित निकाल्दै विदेशी दाउफिन्स क्लब क्यामरुनले उपाधि चुमेको हो ।
विजेता दाउफिन्सले नगद ७ लाख रुपैयाँ र ट्रफि प्राप्त गर्यो । उपविजेता हिमालयन शेर्पा क्लबले भने ४ लाख रुपैयाँमा चित्त बुझाउनुपर्यो ।
फाइनलको ‘म्यान अफ दी म्याच’ उपविजेता हिमालयन शेर्पाका विशन गुरुङ घोषित हुँदै नगद १० हजार प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ठ खेलाडी उपविजेता हिमालयन शेर्पाका गोलरक्षक किशोर गिरी घोषित भए । उनले टिभिएसको १६० सिसिको अपाची मोटरसाइकल प्राप्त गरे । सर्वाधिक गोलकर्ता उपविजेता हिमालयन शेर्पा क्लबका सुनिल खड्का घोषित भए । खेल अवधिभर ४ गोल गरेका उनले नगद ३५ हजार रुपैयाँ प्राप्त गरे ।
उत्कृष्ठ गोलरक्षक विजेता दाउफिन्सका पिसो जाङगा, उत्कृष्ठ डिफेन्डर विजेता दाउफिन्सकै आको बोटा, उत्कृष्ठ मिडफिल्डर उपविजेता हिमालयन शेर्पाका त्रिदेव गुरुङ, उत्कृष्ठ फर्वड दाउफिन्सका पेटेङ्गा र उत्कृष्ठ प्रशिक्षक दाउफिन्सकै कोम वोम्बा घोषित भए । उनीहरुले जनही नगद २५ हजार प्राप्त गरे ।
विजेता र उपविजेता टिम तथा खेलाडीहरुलाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मालगायत अन्य अतिथीहरु समेतले पुरस्कार प्रदान गरेका थिए ।
माइभ्याली फुटबल क्लबको आयोजनामा प्रतियोगितामा सञ्चालन गरिएको थियो । प्रतियोगिताको फाइनलको अवसर पारेर खेल सम्पन्न गर्न योगदान गर्ने व्यक्ति तथा संस्थाहरुलाई सम्मान समेत गरिएको छ ।
भिडियो हेर्नुहोस् :