इलाम : हिमालयन शेर्पा क्लब काठमाडौं इलाममा जारी पाँचौ अन्तरराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको अन्तिम सेमिफाइनलमा मेची नेत्रालय झापालाई ३–० गोलको अन्तरले पाखा लगाउँदै हिमालयन शेर्पा उपाधि नजिक पुगेको हो ।
हिमालयन शेर्पालाई उपाधिनजिक पुर्याउन त्रिदेव गुरुङ, रवि थापा र विशन गुरुङको योगदान रह्यो । जितसँगै हिमालयनले उपाधिका लागि मंगलबार हुने फाइनलमा विदेशी टिम दाउफिन्स क्लब क्यामरुनसँगको भेट पक्का गरको छ । दाउफिन्स यसअघिको सेमिफाइनलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई पाखा लगाउँदै फाइनल प्रवेश गरिसकेको छ ।
पहिलो हाफमा नै अग्रता लिएको हिमालयन हेर्पाले दोश्रो हाफमा अग्रता तेब्बर बनाउँदै जित निश्चित गरेको थियो । सुरुवातदेखि नै दवदवा कायम गर्न सफल हिमालयन शेर्पाले पहिलो हाफको इन्जुरी समयमा अग्रता लिएको थियो । कर्नरको अवसरलाई सदुपयोग गर्दै हिमालयन शेर्पाका त्रिदेव गुरुङले हेडरमार्फत गोल गरी टिमलाई अग्रता दिलाए ।
दोश्रो हाफमा समेत हिमालयन शेर्पाले आक्रमक रणनीति लियो । झापालाई दवावमा राखेको हिमालयनले ६२ औं मिनेटमा पुनः गोल गर्यो । रवि थापाले पेनाल्टी क्षेत्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । दोश्रो हाफको इन्जुरी समयमा विशन गुरुङले गोल गर्दै टिमलाई ३–० को जित निकाल्दै उपाधि नजिक पुर्याए । पाडरिक प्रिभाडेको गोहाको पासमा गुरुङले गोल गरेका थिए ।
यता झापाले अन्तिम समयमा खेलमा फर्कन कोसिस गरेपनि सफल हुन सकेन । गोल गर्ने केहि अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा झापा उपाधि चुम्ने सपना चकनाचुर पार्दै घर फर्कन बाध्य बन्यो ।
खेलको म्यान अफ दी म्याच विजेता हिमालयन शेर्पाका गोलरक्षक किशोर गिरी घोषित भए । उनले नगद १० हजार पाए ।
क्वार्टरफाइनलमा हिमालयन शेर्पाले साविक विजेता थ्रीस्टार क्लब ललितपुरलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो । झापाले पनि पहिलो संस्करणको विजेता विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई रोक्दै सेमिफाइनल प्रवेश गरेको थियो । हिमालयन शेर्पा क्लब र मेची नेत्रालय दुवै माईभ्याली गोल्डकपमा पहिलो पटक सहभागी टिम हो ।
माइभ्याली फुटबल क्लबको आयोजनामा २६ फागुनदेखि संचालित प्रतियोगितामा नेपाल, भारत, हङकङ र क्यामरुनका गरि १० टिमको सहभागिता थियो । पूर्वी पहाडी क्षेत्रकै सर्वाधिक राशी मानिएको प्रतियोगिताका विजेताले नगद ७ लाख र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार पाउने छन् । त्यस्तै उत्कृष्ठ खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन् भने सर्वाधिक गोलकर्ताले नगद २५ हजार रुपैयाँ पाउनेछन् ।