इलाम : इलामको रोङ गाउपालिकालाई पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउनको लागि बिभिन्न कार्यक्रमहरु सञ्चालन भइरहेको छ ।
यसै क्रममा झापा इलामको सिमाना वडा नम्बर ४ को जोरकलश क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । जोरकलश बजार क्षेत्र लगायत मेची राजमार्गको किनारा आसपासमा सरफाइ गरिएको छ । सरसफाइको क्रममा प्लास्टिक जन्य बस्तुहरु संकलन गरी सुरक्षित रुपमा जलाइएको छ भने अन्य फोहोरहरु कुहिने र नकुहिने छुट्याइएको छ ।
वडा नम्बर ४ का वडा अध्यक्ष सूर्य राइको सम्योजकत्वमा भएको सरसफाइ कार्यक्रममा स्थानीय सुन्दर, हडियाचुली र नमुना सामुदायिक बनका पदाधिकारीहरु, प्रहरी, सूचना केन्द्र, तथा जोरकलश बजारबासीको सहभागिता रहेको थियो । संकलन भएको अन्य फोहोरको पनि सुरक्षित ब्यवस्थापन गरिने वडा नम्बर ४ का अध्यक्ष सुर्य राईले बताए ।
पूर्ण सरसफाइको क्रममा खुल्ला दिशा मुक्त अभियान सम्पन्न भइसकेको छ भने, अन्य सूचकहरु पुरा गर्ने क्रममा रहेको छ । यो क्रममा धुवाँरहीत भान्साघर, जुठान सहितको पानीको ब्यवस्था, चाङ निर्माण, सड्ने र नसड्ने फोहोर मैलाको बर्गीकरण गरी डस्टबीनको प्रयोग तथा पशु पक्षीको गोठ सरसफाइ तथा ब्यवस्थापनलाई मुख्य रुपमा कार्यान्वयन गरिने वडानम्बर ३ का सरसफाइ उत्प्रेरक दिपक अर्याल बताउछन् ।
सरसफाइकै क्रममा वडा नम्बर ३ मा पनि एक कार्यक्रम सम्पन्न भएको छ । वडाका फोहोर मैला कसरी ब्यवस्थापन गर्ने भन्ने बिषयमा तालिम सम्पन्न भएको वडा नम्बर ३ का वडा सदस्य प्रेमराज गुरुङले बताए । तालिम पछि वडालाइ सरसफाइका सूचक पुरा गराउनको लागि एउटा समिति पनि गठन गरिएको छ । यमुना सुनुवारको अध्यक्षतामा बनेको समितिको उपाध्यक्षमा कमल दर्जी र सचिबमा सदिप खड्का चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा भक्तबहादुर राई, लिला सुनुवार इन्द्र सुनुवार, टिकाकुमारी अर्याल, सरिस्मा राई, बदी अर्याल, इन्द्रकमला मोते, र गोमा सुनुवार रहेको वडा सदस्य गुरुङले जानकारी दिए ।
त्यसैगरी वडा नम्बर ३ का अध्यक्ष मात्रिका बरालको सम्योजकत्वमा अनुगमन समिति पनि गठन भएको छ । अनुगमन समितिका सदस्यहरुमा योगमाया सुनुवार, प्रेमराज गुरुङ इन्दिरा बिश्वकर्मा र टेकबहादुर बिश्वकर्मा रहेका छन् । अनुगमन समितिका सबै वडाका जनप्रतिनिधिहरु हुन् । गाउपालिकाले एक अपिल नै निकालेर सरसफाइका सूचकहरु पूरा गर्न सबै वडा बासीलाई अपिल गरेको छ ।