कृषि क्रान्तिमा अग्रणी इलाम

सात ‘अ’ ले जिल्ला र देशमात्र हैन विश्वमा नै ख्याती कमायाे

  नयाँ बुलन्द
0 Shares

इलाम : पर्यटकीय गन्तव्यका रूपमा अघि बढ्दै गरेको इलाम कृषि पर्यटनको समेत सम्भावना खोजिरहेको छ । पूर्वकी ‘रानी’को उपनामले चिनिने गरेको यो जिल्ला सम्भावनाको समेत खानी नै भन्ने गरिएको छ । सुन्दर अनि मनोरञ्जनात्मक प्राकृतिक छट्टा, सांस्कृतिक विविधता र कृषि उत्पादनको उर्बरताले यसको सुन्दरताका साथै इलामेलीहरूको व्यावसायिकतालाई अझै बलियो वनाएको छ ।

कृषि क्षेत्रबाट व्यावसायिक सम्भावना बोकेको यस इलाम अन्य जिल्लाको तुुलनामा अग्रणी छ । इलाम ‘अ’ नै ‘अ’ को जिल्ला भनेर समेत चिनिने गरेको छ । अनि इलाम आएकाहरूले सोही उपनाम दिने गरेका पनि छन् ।

विशेष गरेर इलाममा उत्पादित सात ‘अ’ ले जिल्ला र देशमात्र हैन विश्वमा नै ख्याती कमाएको छ  । ओलन, अकवरे, अलैंची, अदुुवा, अम्लिसो, आलुु र अर्गानिक चिया (अर्थोडक्स) ले इलामका सात ‘अ’ को प्रतिनित्व गरेको छ । हुन त इलामलाई धेरैले अन्य ‘अ’ हरूसँग समेत गाँस्ने गरेका छन् ।

साबिककाे जिल्ला कृषि विकास कार्यालय इलामले भने जिल्लामा उत्पादित यिनै सात वटा ‘अ’ लाई इलामका ‘अ’ को संज्ञा दिएको थियाे । पछिल्लो समयमा जिल्लामा किबी फलले समेत यहाँको व्यावसायिकतामा टेवा थप्ने काम गरेको छ ।

इलामा उत्पादित सात ‘अ’ र किबी फल देश तथा विदेश निर्यात हुने गरेको छ । कृषि क्षेत्रबाट नेपालकै सबैभन्दा धेरै व्यावसायिक सम्भावना भएको जिल्लामध्येमा अग्रणी रूपमा अघि बढेको यस जिल्लाका धेरैजसो मानिसहरू कृषिमा नै आफ्नो गुुजारा चलाइरहेका छन् । इलाममा विशेषतः  तीनवटा कुराको उच्च सम्भावना छ– कृषि, पर्यटन र पानी ।

यी सम्भावनाहरूको उचित सदुपयोग गर्न सक्ने हो भने इलामको काँचुली नै फेरिन सक्ने स्थानीय बुद्धिजीवी विमल वैद्य बताउँछन् । “यसका लागि प्रविधि, बजार र व्यवस्थापनमा सरकार र इलामेलीहरूले ध्यान दिन आवश्यक छ,” उनी भन्छन्, “पर्यटन र पानीमा जति आत्मनिर्भर छन् त्यसको तेब्बर बढी जनसंख्या कृषिमा नै निर्भर छन् ।” हुुन त पर्यटन र पानीमा सुुरुमा नै धेरै लगानी आवश्यक रहेकाले पनि त्यसतर्फ जिल्लाबासी नलागेको हुुनुपर्छ ।

जिल्लाबासीले गर्ने यिनै खेतीमा चर्चित सात ‘अ’ लाई आधुनिक र व्यावसायिक बनाउन सके इलामको मात्र नभई समग्र देशको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्नेछ । धेरै युुवाहरू विदेसिएको अवस्थामा यी र यस्ता कुराहरूको सदुुपयोग गर्न सके नेपालीहरूले रोजगारीसमेत पाउन सक्छन् ।

इलाममा उत्पादन हुने कुनै पनि कृषि र गैरकृषि उत्पादनलाई बजारको अभाव छैन । पूर्वका ठूला सहरी क्षेत्र भएका जिल्ला मोरङ र झापा इलामेली उत्पादनको राम्रो बजार हुन सक्छन् । त्यस्तै खुुल्ला सिमाना रहेको भारतका सिलगुडी र दार्जिलिङसमेतमा इलामले आफ्ना उत्पादन आपूर्ति गर्न सक्छ ।

इलाम उत्पादनमा सक्षम भए पनि कहिलेकाहींं सम्बन्धित क्षेत्रबाट उचित सहयोग पाउन नसक्दा इलामेलीहरूले हैरानी ब्यहोर्नुुपर्ने किसानहरू बताउँछन् ।

अलैंची 

इलाममा धेरै किसानहरूले अलैंची खेती गर्छन् । ‘खोल्साको कालोसुन’को उपनाम पाएको अलैंची जिल्लामा १६ सय हेक्टर जमिनमा खेती भएको जिल्ला कृषि बिकास कार्यालय इलामको तथ्यांकमा उल्लेख छ । गएको वर्ष इलाममा ५ सय ७७  मेट्रिकटन अलैंची उत्पादन भएको थियो ।

करिब १० वर्षअगाडि जिल्लामा धेरै अलैंची उत्पादन भए पनि बीचमा विभिन्न रोगका कारण मासिँदै गएको थियो । अलैंचीले पुनर्जन्म पाएसँगै यहाँका किसानहरूको समेत आयस्तर माथि उठ्दै गएको छ । हाल ५४ हजार प्रतिमनमा बिक्री हुँदै आएको अलैंची विशेष गरी पहाडी खोल्सामा हुने गरेको छ ।

खोल्सामा लगाएको अलैंची मासिएकाले खेती गर्ने जमिन परिवर्तन गरिएको छ । यसको मूल्यसमेत उच्च रहेका कारण यहाँका किसानहरूले अन्नबाली नै मासेर अलैंचीको खेती गर्न थालेका छन् ।

जिल्लाको तल्लो (औल) भेग मानिएको जिर्मलेसहित प्याङ, नयाँबजार जमुना, माईपोखरी, सुलुबुङमा सबैभन्दा बढी उत्पादन हुने अलैंची अन्य गाविस तथा नगरपालिकामा समेत मौलाएको बताइएको छ । अलैंची विशेष गरी भारतकै बजारमा बिक्री वितरण हुँदै आएको छ । जिल्लामा रामसाही, गोलसाही, सलकपुुरे, भारलाङलगायत जातका अलैंची खेती गर्ने गरिएको छ ।

अदुवा

अदुवाखेतीमा समेत जिल्लाका धेरै किसान लागिपरेका छन् । जिल्लामा ३ हजार २३३ हेक्टर क्षेत्रफलमा अदुवा लगाइएको छ । अन्नबालीसँगै लगाउन सकिने अदुवा इलाममा वार्षिक ४५ हजार ९९४ मेट्रिकटन उत्पादन हुुने गरेको जिल्ला कृषि विकास कार्यालयका डिकबहादुुर कार्कीले जानकारी दिए । उनका अनुुसार ३० हजार मेट्रिकटन अदुुवा बाहिरी देश नै निकासी हुने गरेको छ भने अन्य उत्पादित अदुुवा बिउका लागि नेपालमा नै खरिद बिक्री हुुने गरेको छ ।

गतवर्ष मात्र प्रतिमन ३५ सयसम्म बिक्री भएको अदुुवा हाल मूल्य घटेर ८ सयदेखि प्रतिमन १ हजार रूपैयाँसम्मले बिक्री हुँदै आएको छ । किसानहरूले मकै बारीसँगै यसको खेती गर्ने गरेका छन् । अदुुवा रोपेको बिउले टुुसा लगाएपछि लगाइएको सोही माउ अदुुवासमेत निकालेर बेचिन्छ । जिल्लाको कोलबुुङ, गोदक, नामसालिङ, देउमाई नगरपालिका, सुम्वेक, सोयाङमा बढी मात्रामा  खेती गरिएको छ । धेरै बेंसी र  लेकबारीमा खेती नफस्टाउने भएकाले मध्यम क्षेत्रका किसानले खेती गर्ने गरेका छन् ।

 

आलुु 

हिउँ पर्ने जमिनमा समेत फस्टाउने आलुु ६ हजार ८१५ हेक्टर क्षेत्रफलमा खेती गर्ने गरिएको छ । कृषि विकास कार्यालय इलामको तथ्यांकअनुसार जिल्लामा ९४ हजार ४५९ सय मेट्रिकटन उत्पादन हुने गरेको छ । विशेष गरेर तरकारीको रूपमा प्रयोग गरिने आलुु इलाम बजार, झापा, मोरङ, काठमाडौंसहित भारतका बजारमा निर्यात हुने गरेको छ ।

खाजा र विभिन्न परिकारमा समेत मिल्ने आलुु सरदर ५० रूपैयाँ प्रतिकिलो बिक्री हुुने गरेको छ । विशेष गरी जिल्लाको उच्च पहाडी भेगका किसानहरूले व्यावसायिक खेती गर्ने गरेका छन् । आलुको नयाँ–नयाँ जात उत्पादन गर्ने उद्देश्यले सरकारले जमुुना र नयाँबजार गाविसको संगमस्थल जौबारीमा आलुु विकास केन्द्र स्थापना गरेको छ । विशेष गरेर एमएस, डेजिरे, बिटे, सेतो आलुु तथा झ्यालेलगायतका जातका उत्पादन हुुने गरेको छ ।

अकबरे 

इलाममा उत्पादित अकबरे देश तथा विदेशमा समेत प्रख्यात छ । पिरो मन पराउनेहरूको पहिलो रोजाइमा रहेको अकबरे खुुर्सानी जिल्लाको १७२ हेक्टर क्षेत्रफलमा लगाइएको कार्यालयको तथ्यांकमा उल्लेख छ । इलाममा मात्र ५९७  मेट्रिकटन उत्पादन हुने गरेको बताइएको छ । हाल सरदर प्रतिकिलो २ सयदेखि ४ सय रूपैयाँसम्ममा बिक्री हुने अकबरे खुुर्सानी जिल्लाका पूर्वी भेगका किसानले व्यावसायिक रूपमा नै खेती गर्ने गरेका छन् ।

ओलन

गाईभैैंसीको दूधलाई नै ओलनसमेत भन्ने गरिन्छ । जिल्लाका ८० प्रतिशत मानिसले दूध उत्पादनका लागि पशुु चौपाया पालेका छन् । जिल्लामा १ लाख २१ हजार ५६२ मेट्रिकटन दुूध उत्पादन हुुने जिल्ला पशुसेवा कार्यालय इलामको तथ्यांकमा उल्लेख छ । जिल्लामा उत्पादन भएको दूधको एक तिहाई उत्पादन जिल्लामा नै खपत हुुने गरेको भए पनि अन्य दूध बाहिरी जिल्ला निकासी हुुने गरेको छ ।

यहाँका किसानले नै डेरी र अन्य दूध प्रशोधन मेसिनको प्रयोग गरी बम्बैसन, चिज, घिउ, छुर्पीलगायतका परिकार उत्पादन गर्ने गरेका छन् । दूधको मूल्य यसको गुुणस्तर मापन गरी फरक–फरक मूल्य निर्धारण गरिने भए पनि सरदर यसको मूल्य प्रतिलिटर ३५ रूपैयाँ निर्धारण गरिएको छ ।

अम्लिसो 

अम्लिसो विशेष गरेर गाईभैंसीको घाँसमा प्रयोग हुुने एक प्रकारको वनस्पती हो । यसै घाँसको फूुललाई कुुचो भनिन्छ । कुुचो घर सफा गर्न प्रयोग गर्ने गरिएको छ । जिल्लामा ५१ हजार ६०३ मेट्रिकटन उत्पादन भएको अम्लिसो (कुचो) को गत वर्ष मात्र २ अर्ब ४७ करोड ६९ लाख ४४ हजारको कारोबार भएको जिल्ला पशुुसेवा कार्यालयको तथ्यांकमा उल्लेख छ ।

उत्पादन भएको घाँस जिल्लामा नै खपत भए पनि यसबाट उत्पादित कुुचो देशभित्र र भारत निर्यात हुुने गरेको छ । विशेष गरी अम्लिसो हिउँदमा किसानले गाईवस्तुुलाई खुवाउने गर्छन् भने कुुचोसमेत यसै सिजना फक्रिने गरेको छ ।

अर्थोडक्स चिया  

करिब १५० वर्ष पहिला तत्कालीन कर्णेल गजराजसिंह थापाले चीनबाट उपहारस्वरूप पाएको चियाको बिउ इलामको हाल रहेको चिया बगानमा रोपेपछि नेपालमा चिया खेतीको प्रारम्भ भएको पाइन्छ । सो बेला चिया रोपे पनि निरन्तरता दिन नसक्दा करिब एक शताब्दीसम्म इलाममा चियाको विकास र विस्तार हुन सकेन ।

सोही समयमा भारतमा चियाखेतीको सुरू भएको मानिन्छ । सन् १८६२ मा आरम्भ भए पनि चियाखेती सन् १९६० बाट मात्र नेपालमा विस्तार भयो । त्यसपछि झापामा निजीस्तरबाट चियाखेती भएको पाइन्छ । हाल चियाको व्यावसायिक रूपमा इलामसहित झापा, पाँचथर, तेह्रथुम, धनकुटालगायतका जिल्लामा सुरू भएको छ । नेपालमा समुन्द्र सतहको ६२ मिटरदेखि ४ हजार ७ सय मिटरको उचाइमा चिया उत्पादन हुने गरेको छ ।

इलामको चिया भारतसहित तेस्रो मुलुकमा समेत निर्यात हुने गरेको छ । गुणस्तरीयताको हिसाबले विश्वमै इलामको चियाले ख्याति कमाएको छ । यो जिल्लामा १२ हजार १०८ रोपनी क्षेत्रफलमा चियाखेती गरिएको चिया विस्तार योजना जस्विरेले जानकारी दिएको छ । चियामा जिल्लाका अधिकांश किसान लागिपरेका छन् । मुलुकको कुल अर्थोडक्स चिया उत्पादनमध्ये ७६ दशमलव २ हिस्सा इलामले नै उत्पादन गर्ने गरेको छ ।

इलामबाट १ करोड २३ लाख ४४ हजार ६५४ केजी चिया उत्पादन हुने गरेको बताइएको छ । इलाममा उत्पादित चियाको बजार अमेरिका, जर्मनी, जापान, अस्टे«लियालगायतका देशमा निर्यात हुने गरेको छ । पहाडमा उत्पादन हुने अर्थोडक्स चियाको कुल उत्पादनको ९० प्रतिशत निर्यात हुने गरे पनि बंगलादेश र पाकिस्तानले सीटीसी चिया आयात गर्न थालेका छन् ।

पछिल्ला दिनमा भारत र चीनमा समेत चिया निर्यात भए पनि सीटीसी चिया भने नेपालमा नै खपत हुने गरेको छ । चिनियाँ शब्द ‘अजब’ बाट आएको चियाको विश्व इतिहास ४ हजार ७ सय वर्षभन्दा पुरानो छ । चियाको बेर्ना लगाएको ४ वर्षमा उत्पादन दिन सुरू गरे पनि ५ वर्षपछि राम्रो उत्पादन दिन्छ ।

चियाको आयु १ सय वर्षभन्दा बढी भए पनि सय वर्षपछि उत्पादनमा कमी आउँछ । चियाले चैतको पहिलो हप्तादेखि सात महिनासम्म उत्पादन दिन्छ । पछिल्लो समयमा किसान आफैले साना चिया सुुकाउने डायर राखेर पनि सुुख्खा चिया उत्पादन गर्दै आएका छन् ।

किबी फल

किबी फल आयआर्जनका हिसाबले राम्रो सम्भावना बोकेको फलका रूपमा लिइन्छ । किबी फल प्रशस्त उत्पादन गरी विदेश निर्यात गर्न सकेमा लाखौं विदेशी मुद्रा आर्जन गर्न सकिने यस खेतीमा लाग्नेहरू बताउँछन् । ‘फलहरूको राजा’ र ‘द सुप्रिम फ्रुट’ लगायतको उपमा पाएको यो फल नेपालका लागि नयाँ र आयमूलक फलको रूपमा लिन सकिने किबी फलका अग्रणी किसान तारामणि खतिवडा बताउँछन् ।

एक रोपनी जमिनमा १५ वटासम्म किबी फलको विरुवा लगाउन सकिन्छ । विरुवा लगाएको पहिलो वर्ष २ पटक मल र ४–५ पटक गोडमेल गरेर पुग्ने यो फल ताजा फलफूलमध्ये एक विशिष्ट फलका रूपमा लिइन्छ ।

मूल्यका हिसाबले महँगो फल मानिएको किबी इलामका धेरै किसानहरूले लगाउन थालेका छन् । सुरू–सुरूमा यो फल प्रतिकिलो ६ सयले बिक्री भए पनि उत्पादन बढ्दै जाँदा हाल प्रतिकिलो २५० का दरले बिक्री हुँदै आएको छ । उद्योग वाणिज्य महासंघमार्फत इलाम उद्योग वाणिज्य संघ इलामले ‘एक गाउँ एक उत्पादन’ कार्यक्रम अघि सारेरसमेत किबीमा यहाँका किसानहरूलाई व्यावसायिक बनाउन जोड दिँदै आएको छ  ।

यो फल खाँदा विभिन्न फलफूलको स्वाद एकै दानामा हुुने विभिन्न रोगहरूको औषधिसमेत हुुने किसानहरूको दाबी छ । ताजा फलको रूपमा र जुस, जाम, वाइन, जेल्ली, आइसक्रिमलगायतका परिकार बनाइ सेवन गर्न सकिने पारखीहरू बताउँछन् ।

विरुवा लगाएको २–३ वर्षदेखि उत्पादन सुरू गर्ने किबीको विरुवाले करिब ४० देखि ६० वर्षसम्म नै निरन्तर उत्पादन दिने कृषक खतिवडाको भनाइ छ । सातौं वर्षदेखि किबीले राम्रो गुणस्तरसँगै उत्पादन पनि एउटै विरुवाले ५० देखि १ सय किलोसम्म फल फलाउँछ । यो फल कुखुराको अण्डाभन्दा केही ठूलो आकारमा खैरो रङमा फल्ने गर्दछ ।

यो फल नेपालको भूगोलअनुसार १२ सयदेखि २४ सय मिटरको उचाइमा लगाउन सकिन्छ । नेपालको ४० जिल्लामा यो फल लगाउन सकिने अनुमान गरिए पनि हाल १० वटा जिल्लामा खेती सुरू गरिएको छ । ती मध्ये पनि दोलखा किबीको स्रोत जिल्ला हो ।

दोलखाको बोचस्थित बागवाणी फार्ममा १४ वर्षअगाडिबाट किबी लगाइएको थियो । इलामका साथै पाँचथर, ताप्लेजुुङसहित रामेछाप, सिन्धुपाल्चोक, सोलुखुम्बुलगायतका जिल्लामा पनि किबीको व्यावसायिक खेती सुरू गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार