इलाम : नेपाल पुलिस क्लब काठमाडौंलाई हराउँदै विदेशी टिम दाउफिन्स क्लब क्यामरुन इलाममा जारी पाँचौं संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको फाइनल प्रवेश गरेको छ ।
शनिबार भएको पहिलो सेमीफाइनलमा विभागीय टिम नेपाल पुलिसलाई २–० गोलको सहज जित निकाल्दै दाउफिन्स उपाधि नजिक पुगेको हो ।
पहिलो हाफमा १–० ले अग्रता लिएको दाउफिन्सले दोश्रो हाफमा अग्रता दोब्बर बनाउँदै जित निकालेको थियो । सुरुवातदेखि नै पुलिसमाथि दवाव सिर्जना गरेको दाउफिन्सले १७ औं मिनेटमा पहिलो गोल गरी अग्रता बनायो । दाउफिन्सका अहोण्डा इसाको फ्रिकिकलाई अवसरलाई सदुपयोग गर्दै टिनाटिनाले हेडरमार्फत गोल गरेका थिए । दाउफिन्सका खेलाडीलाई पुलिसका खेलाडीले फाउल बनाएपछि फ्रिकिक पाएको थियो ।
पुलिससामू निरन्तर दवदवा कायम गर्न सफल दाउफिन्सले दोश्रो गोल खेलको ७१ औं मिनेटमा गरेको थियो । दाउफिन्सका अहोण्डा इसाले गोल गरी आफ्नो टिमलाई २–० को जित निश्चित दिलाएका थिए ।
खेलको म्यान अफ द म्याच विजेता दाउफिन्सका टिनाटिना घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।
आइतबार फाईनल प्रवेशका लागि दोश्रो तथा अन्तिम सेमीफाइनलमा हिमालयन शेर्पा क्लब काठमाडौं र मेची नेत्रालय झापाबीच प्रतिष्पर्धा हुनेछ ।
प्रतियोगिताको फाइनल मंगलबार हुनेछ । २६ फागुनदेखि संचालित प्रतियोगितामा नेपाल, भारत, हङकङ र क्यामरुनका गरि १० टिमको सहभागिता थियो । माइभ्याली फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताका विजेताले नगद ७ लाख र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।
२०७१ सालमा सुरु माईभ्याली गोल्डकप पुरस्कार र धनराशिका हिसाबले पूर्वी पहाडकै प्रतिष्ठित प्रतियोगिता हो ।