इलाम : पहिलो पटक सहभागीता जनाएको मेची नेत्रालय झापा इलाममा जारी पाँचौं संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ ।
पहिलो संस्करणको विजेता विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई टाईब्रेकरमा ४–३ गोलले पाखा लगाउँदै झापाले सेमीफाइलनको यात्रा तय गरेको हो । निर्धारीत र अतिरीक्त समयमा समेत १–१ गोलको बराबरीमा खेल सम्पन्न भएपछि टाईब्रेकरमा विजेता निर्धारण गरिएको थियो ।
टाईब्रेकरमा झापाका विक्रम लिम्बू, योगेङ गुरुङ, विशाल राई र मिलन राईले गोल गरे भने भिक्टोरको प्रहार आर्मीका गोलरक्षक विवस चौधरीले बचाउ गरेका थिए । आमीका तर्फबाट भने विकास तामाङ, रुपेश क्षेत्री र दीपकुमार लामाले गोल गरे । विवेक बस्नेतको प्रहार झापाका गोलरक्षक दिनेश थापा मगरले बचाउ गरेका थिए भने युद्ध शाहीको प्रहार गोल पोष्टबाट बाहिरिएको थियो ।
खेलको म्यान अफ दी म्याच घोषित विजेता झापाका दिने थापा मगरले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।
झापाको भेट अब आइतबार हुने दोश्रो सेमीफाइलनमा हिमालयन शेर्पा क्लबसँग हुने निश्चित भएको छ । आर्मी माईभ्याली गोल्डकपको पहिलो संस्करणको च्याम्पियन हो । मेची नेत्रालय भने माईभ्याली गोल्डकपमा पहिलो पटक सहभागी जनाएको टिम हो ।
सुरुवाती अग्रता लिएको आर्मीले खेल अवधिभर टिकाउन नसक्दा हार व्यहोर्नु परेको थियो । पहिलो हाफमा गोलरहित बराबरी खेलेको आर्मीले दोश्रो हाफको ५७ औं मिनेटमा अग्रता लियो । आर्मीको अग्रतामा दिपेन्द्र कार्कीको योगदान थियो ।
तर त्यो अग्रता खेल अवधिभर टिक्न सकेन । ८५ औं मिनेटमा झापाका विकास राईले हेडरमार्फत गोल गरी खेल बराबरीमा ल्याए । झापाका विदेशी खेलाडी भिक्टोरलाई आर्मीका विकास तामाङले फाउल बनाएपछि पाएको अवसरलाई सदुपयोग झापाका राईले जाली चुमाए । योगेश गुरुङको फ्रिकिकलाई सदुपयोग गर्दै राईले हेडरमार्फत जाली चुमाएका थिए ।
त्यसपछिको समय र अतिरीक्त समयमा समेत थप गोल नभएपछि विजेताका लागि टाईब्रेकरमा जानु परेको थियो ।
शनिबारको पहिलो सेमीफाइनलमा विभागीय टिम नेपाल पुलिस क्लब र विदेशी टिम दाउफिन्स क्लब क्यामरुन आमनेसामने हुँदैछन् ।
५ चैतसम्म चल्ने प्रतियोगितामा नेपाल, भारत, हङकङ र क्यामरुनका गरि १० टिमको सहभागिता छ । माइभ्याली फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताका विजेताले नगद ७ लाख र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।
२०७१ सालमा सुरु माईभ्याली गोल्डकप पुरस्कार र धनराशिका हिसाबले पूर्वी पहाडकै प्रतिष्ठित प्रतियोगिता हो ।