एपिएफलाई रोक्दै विदेशी टिम दाउफिन्स सेमीफाइनलमा (भिडियो सहित)

  राम योङहाङ  287 पटक हेरिएको

माईभ्याली गोल्डकपमा बिहीबार संघर्ष गर्दै एपिएफ (रातो) र दाउफिन्सका खेलाडी ।

इलाम : विदेशी टिम क्यामरुनको दाउफिन्स क्लब इलाममा जारी पाँचौं संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको खेलमा ए डिभिजन क्लब सशस्त्र प्रहरीको एपिएफ क्लबलाई ३–१ गोलको सहज सजत दर्ता गर्दै दाउफिन्सले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । जितसँगै दाउफिन्सले शनिबार हुने पहिलो सेमीफाइनलमा अर्को विभागीय टिम नेपाल पुलिस क्लबसँगकोे भेट पक्का गरको छ ।

पहिलो हाफमा नै अग्रता लिएको दाउफिन्सले दोश्रो हाफमा अग्रता बढाउँदै जित निश्चित गरेको थियो । सुरुवातदेखि नै दवदवा कायम गर्न सफल दाउफिन्सले खेलको १४ औं मिनेटमा नै अग्रता लिएको थियो । दाउफिन्सका मेजोभ्केले हेडमार्फत पहिलो गोलको खाता खोलेका थिए । त्यसको ६ मिनेटपछि दाउफिन्सले अग्रता दोब्बर बनायो । २० औं मिनेटमा मिसिकेको क्रस पासलाई सदुपयोग गर्दै दाउफिन्सका पेटङ्गाले टिमका लागि दोश्रो गोल गरे । सुरुवातमै २ गोल खाएको एपिएफले ३६ औं मिनेटमा एक गोल फर्काउन सफल भयो । रिबाउन्स बललाई सदुपयोग गर्दै एपिएफका हरी कार्कीले गोल गरेका थिए ।

पहिलो हाफमा २–१ को अग्रता लिएको दाउफिन्सले दोश्रो हाफमा समेत दवदवा कायम गर्न सफल बन्यो । इलामे दर्शकको समर्थन पाएको दाउफिन्सले ६२ औं मिनेटमा गोल गरी पुनः अग्रता बढाए । कर्नरको अवसरलाई सदुपयोग गर्दै दाउफिन्सका पेटङ्गाले हेडमार्फत गोल गरी टिमलाई जित निश्चित दिलाएका थिए ।

एपिएफले पनि अन्तिम समयमा खेलमा फर्कन कोसिस गरेपनि सफल भएन । तर सदुपयोग गर्न नसक्दा एपिएफ उपाधि चुम्ने सपना चकनाचुर पार्दै घर फर्कन बाध्य बन्यो ।

उत्कृष्ठ खेलेको विजेता दाउफिन्सका पेटेङ्गा म्यान अफ दी म्याच घोषित हुँदै नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

शुक्रबार अन्तिम क्वार्टरफाइनलमा विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी र मेची नेत्रालय झापा आमनेसामने हुँदैछन् । आर्मी माईभ्याली गोल्डकपको पहिलो संस्करणको विजेता टिम हो । मेची नेत्रालय भने पहिलो पटक सहभागी टिम हो ।

५ चैतसम्म चल्ने प्रतियोगितामा नेपाल, भारत, हङकङ र क्यामरुनका गरि १० टिमको सहभागिता छ  । माइभ्याली फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताका विजेताले नगद ७ लाख र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

२०७१ सालमा सुरु माईभ्याली गोल्डकप पुरस्कार र धनराशिका हिसाबले पूर्वी पहाडकै प्रतिष्ठित प्रतियोगिता हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार