काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रतिनिधिहरुलाई इमान बचाएर काम गर्न आग्रह गरेका छन् ।
नेपाल नगरपालिका संघको २६ औं स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले जनप्रतिनिधिको इमान डगमगायो भने जनताको जनप्रतिनिधिमुलक संस्था माथिको विस्वास पनि डगमगाउने बताएका छन् । “जनप्रतिनिधिमुलक संस्थाप्रति जनताको विस्वास घट्यो भने लोकतन्त्र कमजोर हुन्छ” प्रधानमन्त्री ओलीले भने, “त्यसकारण तपाईंहरुको आचरणका आधारमा लोकतन्त्रप्रति जनताले दृष्टिकोण बनाउने हुन् । यसमा सबैले सजग हुनुपर्दछ ।”
प्रधानमन्त्री ओलीले निर्वाचनका बेला जनतासँग गरेका प्रतिवद्धता नभूल्न पनि जनप्रतिनिधिलाई सम्झाएका छन् । “अवसरहरु सक्षम र गरिबलाई दिनुहोस आफ्ना छोराछोरीलाई होइन” प्रधानमन्त्री ओलीले भने “निर्वाचनका बेला तपाईंले छोराछोरीसँग होइन मतदातालाई सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।”
प्रधानमन्त्री ओलीले नेपालबाट पृथकतावादी आन्दोलन समाप्त भएको स्पष्ट पारे । “पृथकतावादका नाममा ठाउँठाउँमा कार्यपत्र प्रष्तुत गरेर हिड्नेहरुले अहिले यसको बिरोध गरेका छन्” प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले लुटपाट गर्ने समुहलाई चन्दा नदिन जनप्रतिनिधिलाई आग्रह गरे ।
प्रधानमन्त्री ओलीले स्थानीय तहका अधिकारका बिषयमा नगरपालिका संघ, गाउँपालिका महासंघ र जिल्ला समन्वय समिती महासंघका प्रतिनिधिहरुसँग छलफल गर्ने बताएका छन् ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले नगरपालिकाका असल अभ्यास नामको पुस्तक बिमोचन गरेका छन् ।