इलाम : हिमालयन शेर्पा क्लब काठमाडौं इलाममा जारी पाँचौ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
सोमबार इलामको ठूलो टुँडीखेलमा भएको खेलमा विदेशी टिम नेप्लीज एकाडेमी क्लब हङकङलाई ५–१ गोलको फराकिलोअन्तरले हराउँदै हिमालयनले अन्तिम आठमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
खेलको पहिलो मिनेटमा नै हिमालयन शेर्पा क्लबका सुनिल खड्काले गोलको खाता खोले । विपक्षी टिमको कमजोर रक्षापंतीको फाइदा लिदैं खड्काले प्रहार गरेको बलले सीधै जाली चुमेको थियो । डिबस्क भित्रबाट प्रहार गरेको बलले जाली चुमेको हङकङका गोलकिपर अभिजित रोय पत्तै पाएनन् ।
आठौं मिनेटमा पुन हिमालयनका खड्काले नै दोश्रो गोल गरी अग्रता दोब्बर बनाए । हङकङका गोलकिपर रोय अगाडि बढेको मौकामा खड्काले सहजै जाली चुमाए । सुरुवातदेखि नै विपक्षीलाई दवावमा राख्न सफल हिमालयनले ३७ औं मिनेटमा अग्रता तेब्बर बनायो । हिमालयनका विसन गुरुङले गोल गर्दै पहिलो हाफमा ३–० को अग्रता बनाए ।
दोश्रो हाफको सुरुआतमा हङकङले एकमात्र जवाफी गोल फर्काउन सफल भएको थियो । ४६ औं मिनेटमा हङकङका समीर लिम्बूले जवाफी गोल फर्काउँदै खेल ३–१ मा ल्याए । तर दोश्रो हाफमा समेत हिमालयनको दवदवा कायमै रहयो । ६६ औं मिनेटमा पुन हिमालयनका सुनिल खड्काले गोल गरी टिमलाई ४–१ अग्रता मात्र दिलाएनन्, आफ्नो ह्याट्रिक समेत पूरा गरे । विपक्षीलाई निरन्तर दवावमा राखेको हिमालयनका कप्तान मानबहादुर तामाङले ७७ औं मिनेटमा गोल गरी ५–१ सहज जित दिलाएका थिए ।
यता पहिलो हाफमा कमजोर प्रदर्शन गरेको हङकङदे दोश्रो हाफमा समेत खेलमा फर्कन सकेन । हङकङलाई रक्षात्मक समेत खेल्न हम्मेहम्मे परेको थियो । अन्तिम समयसम्म विपक्षीको पोलमा गोल गर्न केही अवसर पाएपनि गोल गर्न सकेन । अन्ततः पहिलो चरणबाटै हारको स्वाद चाख्दै स्वदेश फर्कन बाध्य बनेको थियो ।
खेलमा विजेता हिमालयन शेर्पा क्लब सुनिल खड्का म्यान अफ दी म्याच घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । हिमालयन शेर्पा क्लबले अब बुधबार हुने दोश्रो क्वार्टरफाइनलमा डिफेन्डिङ च्याम्पियन थ्रिस्टार क्लबको सामना गर्नेछ ।
मंगलबार पहिलो क्वार्टरफाइनमा विभागीय टिम नेपाल पुलिस क्लब काठमाडौं र विदेशी टिम युनाइटेड क्लब दार्जिलिङ भारत भिड्नेछन् ।
५ चैतसम्म चल्ने प्रतियोगितामा नेपाल, भारत, हङकङ र क्यामरुनका गरि १० टिमको सहभागिता छ । माइभ्याली फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताका विजेताले नगद ७ लाख र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।
२०७१ सालमा सुरु माईभ्याली गोल्डकप पुरस्कार र धनराशिका हिसाबले पूर्वी पहाडकै प्रतिष्ठित प्रतियोगिता हो ।