इलाम : इलाममा ४५ दिने मोवाइल मर्मत तालिम सुरु भएको छ । सृजनशील महिला समाज इलाम ७ को आयोजनामा तालिम सुरु भएको हो ।
तालिममा १२ जना महिलाहरु सहभागी छन् । सहभागीहरुलाई शेर्पा साइवर एण्ड सप्लायर्सका प्रशिक्षक संजीव राईले प्रशिक्षण दिइरहेका छन् ।
‘स्वरोजगार सृजना गरी आर्थिक विकास गरौं’ भन्ने नाराका साथ सृजनशील महिला समाजले यसपटक १२ जना महिलालाई मोबाइल मर्मत तालिम प्रदान गर्न लागिएको आयोजक सृजनशील महिला समाजले जनाएको छ ।
आयोजकका अध्यक्ष तारा गुरुङको अध्यक्षतामा भएको तालिमको उद्घाटन इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले गरेका हुन् । उद्घाटन कार्यक्रममा इलाम नगरपालिका ७ का अध्यक्ष नरेश श्रेष्ठ, संजीव राई, शेर्पा साइवर एण्ड सप्लायर्सका प्रोपाइटर लाप्साङ शेर्पा, प्रशिक्षक संजीव राई, जिल्ला समन्वय समितिका सदस्य नीरु राई, इलाम नगरकार्यपालिका सदस्य इन्दिरा पौड्याल लगायतको उपस्थिती थियो ।