पाँचथर : नेपाल बार एशोसिएसनको २५ औं महाधिवेशनमा आदिवासी/जनजाति क्षेत्रबाट सदस्यको उम्मेदवार हुन्-कैलाश गुरुङ ।
पाँचथर फिदिम नगरपालिका ८, रानीटारका ४३ वर्षीय अधिवक्ता गुरुङ कानुन व्यवसायीमाझमात्र हैनन् आदिवासी समुदायमासमेत लोकप्रिय मानिन्छन् । बारको आसन्न महाधिवेशनमा लोकतान्त्रिक समूहका उम्मेदवार गुरुङले काठमाडौंमा रहेर वकालत गरेको १५ वर्ष भयो ।
‘काठमाडौं स्कुल अफ ल’बाट एल.एल.एम. पूरा गरेका गुरुङले कानुनी क्षेत्रमा स्पष्ट र प्राज्ञिक हैसियत बनाएका छन् । सुरुमा हिमाल, पहाड र तराइका आदिवासी जनजाति सम्मिलित कानुन व्यवसायीहरु मिली समावेशी ल फर्म सञ्चालन गरेका उनले पहाडमा रहेका आमाबुबाको नाममा अनामनगरमा पाँच वर्षयता चन्द्र ल केन्द्र चलाइरहेका छन् ।
‘गरिबी र अशिक्षाका कारण आदिवासी जनजातिहरुको न्यायमा कम पहूँच छ’ गुरुङ भन्छन्, ‘त्यसैले देशभरका आदिवासीको सहयोगको लागि आफूलाई यो व्यवसायमा केन्द्रीत गरेको छु ।’ आफूकहाँ आउने नागरिकलाई उनी तत्काल रेस्पोन्स गर्छन् र सक्दो सहयोग गर्ने गरेको उनका सहकर्मी बताउँछन् । आदिवासी जनजाति समुदायले काठ्माडौंमा गर्ने प्राय: कार्यक्रममा उनी सामेल हुन्छन् । सानैदेखि अर्कालाई सहयोग गर्ने र तार्किक क्षमता राख्ने तीक्ष्ण बुध्दिका गुरुङ त्यही कारण अहिले व्यवसाय र समुदायमा लोकप्रिय बन्न सफल बनेको उनका सहपाठी केशव रिजालले बताए । चार भाइ र तीन बहिनीका जेठा दाजु कैलाश श्रीमती, एक छोरा र एक छोरीका साथ सूर्यविनायक ५, भक्तपुरको आफ्नै निवासमा बसोबास गर्छन् ।
नेपाल प्रहरीमा छोटो अवधि जुनियर प्रहरी अधिकृतको रुपमा काम गरेर राजीनामा गरी वैदेशिक रोजगारी समेत गरेका उनी पछिल्लो व्यवसायिक काममा अब्बल दरिएका छन् । गुरुङले बारमा विजयपछि वकालत पेशामा रहेका विकृति हटाउन सक्दाे प्रयास गर्ने प्रण गरेका छन् ।